☰

नेप्से २.६४ अंकले बढ्यो, कारोबार साढे ३ अर्बमा सीमित

काठमाडौं । तिहारको पूर्वसन्ध्यामा नेपालको सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले उकालो लागेको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ।

यस दिन ३३६ कम्पनीका १ करोड ७ लाख १३ हजार कित्ता सेयर ३३ हजार २१५ पटकको कारोबारबाट किनबेच भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। अन्य कम्पनीको सेयर मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ।

यसको विपरीत घोराही सिमेन्ट इन्डस्ट्रिजको सेयर मूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डस्ट्रिज पहिलो स्थानमा रहेको छ। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने एउटाको घटेको छ। अन्य उपसमूहबाहेक सबै उपसमूहमा सामान्य वृद्धि देखिएको हो। अन्य उपसमूहको परिसूचक भने ०.८८ प्रतिशतले घटेको छ।

तिहारको बिदाअघि बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम घट्नुले लगानीकर्ताको सक्रियता अपेक्षाकृत बढ्न नसकेको संकेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय