काठमाडौं । नेपालको पुँजी बजारमा एउटै दिन सेयर खरिद तथा बिक्री गर्न सकिने अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालन गर्ने तयारी अघि बढेको छ। नेपाल धितोपत्र बोर्डले यससम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार पार्दै सरोकारवालासँग सुझाव मागेपछि नेपाली सेयर बजारमा इन्ट्राडे कारोबार सुरु गर्ने प्रक्रिया अघि बढेको हो।
बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै आगामी मंसिर ४ गतेभित्र राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ।
पुँजी बजारमा कारोबारको गति बढाउने, बजारमा तरलता विस्तार गर्ने तथा धितोपत्रको मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ।
बोर्डले गत असोज ८ गते सार्वजनिक गरेको ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ का आधारमा नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको हो।
प्रस्तावित व्यवस्थाअनुसार इन्ट्राडे कारोबार सञ्चालन गर्न स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट अनुमति लिनुपर्नेछ। त्यस्तै, बोर्डले निर्धारण गरेका मापदण्ड पूरा गरेका सूचीकृत कम्पनीका सेयरलाई मात्र यस्तो कारोबारका लागि योग्य बनाइनेछ।
इन्ट्राडे कारोबारको सुविधा दिनुअघि धितोपत्र दलाल व्यवसायीले ग्राहकको पहिचान, आर्थिक अवस्था, जोखिम वहन गर्न सक्ने क्षमता र कारोबारका लागि उपयुक्ततासमेत मूल्याङ्कन गर्नुपर्नेछ। ग्राहकले कारोबार गर्नुअघि दिएको आदेश, आवश्यक मार्जिन र जोखिम सीमालगायत विषयको परीक्षण गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ।
इन्ट्राडे कारोबारमा लगानीकर्ताले एउटै कारोबार दिनभित्र सेयर खरिद र बिक्री गरी आफ्नो कारोबारको अवस्था बन्द गर्नुपर्नेछ। तोकिएको समयभित्र कारोबार बन्द नगरेमा स्वतः बन्द हुने (अटो स्क्वायर अफ) व्यवस्था प्रस्ताव गरिएको छ।
यस्तो कारोबारमा सहभागी लगानीकर्ताले तोकिएअनुसार आवश्यक मार्जिन रकम कायम गर्नुपर्नेछ। बजारमा सेयरको मूल्यमा हुने उतारचढावलाई ध्यानमा राख्दै थप मार्जिन अर्थात् भेरिएसन मार्जिनसमेत माग गर्न सकिने व्यवस्था मस्यौदामा गरिएको छ।
त्यस्तै, प्रत्येक लगानीकर्ता, धितोपत्र दलाल व्यवसायी, सम्बन्धित धितोपत्र तथा समग्र बजारका लागि अधिकतम कारोबार सीमा (एक्सपोजर लिमिट) निर्धारण गरिने प्रस्ताव छ। यसले कारोबारको क्रममा उत्पन्न हुन सक्ने वित्तीय जोखिम नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धितोपत्र दलाल व्यवसायीले कारोबारको जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा ग्राहकका गुनासो सम्बोधन गर्ने छुट्टै संयन्त्रसमेत तयार गर्नुपर्नेछ। अन्तरदिवसीय कारोबार सञ्चालनका लागि आवश्यक प्रविधि, सुरक्षा प्रणाली र वास्तविक समयमै जोखिम पहिचान तथा नियन्त्रण गर्ने व्यवस्था अनिवार्य गर्न प्रस्ताव गरिएको छ।
यसका साथै बोर्ड, स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई इन्ट्राडे कारोबारको प्रकृति, सम्भावित जोखिम तथा कारोबार प्रक्रियाबारे जानकारी दिन शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।
बोर्डले यस्तो कारोबारलाई बजारको अवस्था र आवश्यकताअनुसार चरणबद्ध रूपमा कार्यान्वयन गर्न सक्ने प्रस्ताव गरेको छ। यसले सुरुवाती चरणमा निश्चित धितोपत्र र मापदण्डका आधारमा कारोबार सञ्चालन गर्ने बाटो खुलाउन सक्छ।
प्रस्तावित नियमावलीको मस्यौदामाथि प्राप्त सुझावका आधारमा आवश्यक संशोधन गरी अन्तिम रूप दिने बोर्डको तयारी छ। नियमावली कार्यान्वयनमा आएपछि नेपाली सेयर बजारमा कारोबारको नयाँ अभ्यास सुरु हुनेछ। तर, इन्ट्राडे कारोबारले बजारमा तरलता र कारोबारको अवसर बढाउने सम्भावनासँगै मूल्यमा तीव्र उतारचढाव तथा लगानीकर्ताको जोखिमसमेत बढाउन सक्ने भएकाले प्रभावकारी नियमन र जोखिम व्यवस्थापनलाई महत्त्वपूर्ण मानिएको छ।