☰

ममता काफ्लेको शव टुक्र्याउन थालेको नरेश भट्टको अदालतमा बयान

काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव बेडरुममा फेला पारेपछि टुक्र्याउन थालेको बयान दिएका छन्। अमेरिकाको भर्जिनियास्थित अदालतमा बिहीबार बयान दिने क्रममा उनले शव टुक्र्याउने प्रयास गरे पनि शारीरिक शक्ति नपुगेपछि बीचमै रोक्नुपरेको बताएका हुन्।

अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार भट्टले सन् २०२४ जुलाई ३० को बिहान बेडरुमको भुइँमा ममताको शव देखेको बताएका छन्। उनका अनुसार ममताको अनुहार र भुइँमा बान्ता थियो। बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल तथा कृषि रसायन सेल्फोसको संकेत रहेको उनले अदालतमा दाबी गरेका छन्।

भट्टले ममताको अवस्था देखेपछि उनलाई छोएर बोलाउने प्रयास गरेको र सीपीआरलगायत जीवन बचाउने उपाय अपनाएको बताएका छन्। तर, त्यसपछि शव टुक्र्याउन थालेको उनको बयान छ। उनले सुरुमा ममताको खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको बताएका छन्।

उनका अनुसार ममताको शव बाथरुममा सारेपछि टुक्र्याउने प्रयास गरेका थिए। तर, पहिलो दिन शारीरिक शक्ति नपुगेपछि उक्त काम रोक्नुपरेको उनले बताए। त्यसपछि बेडरुमको ढोका बन्द गरेर छोरीलाई लिन गएको, खाना खुवाएको र सुताएको बयान उनले अदालतमा दिएका छन्।

घटनाको रात आफू सुत्न नसकेको पनि भट्टले बताएका छन्। परिवारले पूजापाठ गर्ने कोठामा गएको हो भन्ने प्रश्नमा भने आफूलाई डर लागेकाले त्यहाँ नगएको जवाफ दिएका थिए।

ममताको शव भने अहिलेसम्म फेला परेको छैन। भट्टमाथि पत्नीको हत्या र शव लुकाएको अभियोग लागेको छ। सन् २०२४ अगस्टमा पक्राउ परेयता उनी हिरासतमै छन्।

ममता अमेरिकाको युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। उनी नियमित काममा उपस्थित नभएपछि उनको अवस्थाबारे अनुसन्धान सुरु भएको थियो।

सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए। ममताका साथी र परिवारले भने उनी आफ्नी शिशु छोरीलाई छाडेर कतै नजाने भन्दै प्रहरीलाई जानकारी गराएका थिए।

भट्टले सन् २०२४ अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। त्यस क्रममा उनले ममताले घर छाड्ने र सम्बन्धविच्छेद गर्ने कुरा गरेको दाबी गरेका थिए। तर, अगस्ट २२ मा दम्पतीको बेडरुम र बाथरुममा रगतका दाग फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अदालतमा भट्टले दिएको पछिल्लो बयानले ममता बेपत्ता प्रकरणको अनुसन्धान र मुद्दालाई थप चर्चामा ल्याएको छ। यद्यपि, उनीमाथि लागेका अभियोगको अन्तिम निरूपण अदालतबाट हुन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय