काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीसँगै सम्बन्धित निकायहरूको सक्रियता बढेको छ। उद्योगको अवस्था अध्ययन तथा सञ्चालन सम्भावनाबारे विभिन्न सरकारी टोलीले स्थलगत निरीक्षणसमेत थालेका छन्।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ सालदेखि सञ्चालनमा आएको हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ। उद्योग पुनः सञ्चालनका लागि विगतमा विभिन्न प्रयास भए पनि ती सफल हुन सकेका थिएनन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार यस वर्ष सरकारले उद्योग सञ्चालनमा विशेष चासो देखाएपछि स्थलगत अनुगमन र तयारीका काम तीव्र बनेका छन्।
उनका अनुसार कपडा उद्योगसँगै त्यसबेला बुटवलमा धागो कारखाना र बाँकेको नेपालगञ्जमा कपास उत्पादनसम्बन्धी उद्योग पनि सञ्चालनमा थिए। हेटौँडा कपडा उद्योग बन्द भएपछि ती उद्योगहरू पनि प्रभावित भएका थिए।
भण्डारीले उद्योगमा रहेका अधिकांश उपकरण सामान्य मर्मतपछि पुनः प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए। उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अग्रसरता लिएको र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित विभिन्न सरकारी टोलीले उद्योगको स्थलगत निरीक्षण गरिसकेको उनले बताए।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले पनि उद्योगको अवस्था अध्ययन गरेको छ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा मन्त्री यादवले हेटौँडा कपडा उद्योगलाई यसै वर्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी थिइन्। उनले रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिले सञ्चालनमा आउने तथा त्यसका लागि आवश्यक बुटवल धागो उद्योग र कपास खेतीसमेत पुनः सञ्चालन गरिने जानकारी दिएकी थिइन्।
उद्योग बन्द भएपछि २०७५ सालदेखि उद्योग परिसरमा सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ। त्यसअघि उद्योगको सुरक्षाका लागि सीमित जनशक्ति मात्र रहेको थियो। सशस्त्र प्रहरीको उपस्थितिपछि उद्योग परिसर सुरक्षित बनेको छ।
हाल उद्योग पुनः सञ्चालनको तयारीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्योग परिसरमा सरसफाइ तथा व्यवस्थापनका कामसमेत सञ्चालन गरिरहेको छ।