ललितपुर – ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन ओभरपास परियोजनाले पछिल्लो समय गति लिएको छ। विभिन्न कारणले ढिलाइ भएपछि निर्माण कम्पनीले दैनिक ठेक्का रकमको १० प्रतिशत जरिवाना तिरेरै भए पनि कामलाई तीव्रता दिएको छ।
निर्माण भइसकेको केही स्थानमा समस्या आएपछि त्यो स्थानको पुननिर्माण गरिँदैछ। अहिले माटो हटाएर त्यो स्थानको मर्मत गरिँदैछ।
यो ओभरपास निर्माणको लागि कम्पनीले पाएको समयसीमा २०८१ पुसमा सकिएको थियो। आरसी, समानान्तर, र रेलिग्रे जेभीले सडक विभागसँग इपिसी मोडलमा ठेक्का सम्झौता गरेको उक्त परियोजना १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा २०७९ पुसदेखि सुरु भएको हो। तर, डिजाइन समस्याका कारण लामो समयसम्म काम अघि बढ्न सकेको थिएन।
निर्माण सुस्त भएपछि सडक विभागले ठेकेदार कम्पनीलाई पटक-पटक ताकेता गर्दै पत्राचारसमेत गरेको थियो। अन्ततः माघ अन्तिम सातादेखि परियोजनाले गति लिएको छ। सातदोबाटो खण्डमा पहिल्यै निर्माण भइसकेको भागमा समस्या देखिएपछि अहिले माटो हटाएर पुनःनिर्माण कार्य भइरहेको छ। कोटेश्वरतर्फ माटो भर्ने काम पूरा भइसकेको छ भने हाल बार निर्माण कार्य चलिरहेको छ।
हाल दैनिक १२ घण्टाभन्दा बढी समय १०० भन्दा बढी मजदुरहरू खटिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हालसम्म परियोजनाको ८२ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको छ।
परियोजनाका साइड इञ्जिनियरले पत्रकारहरूसँग प्रतिक्रिया दिन अस्वीकार गरे भने परियोजना प्रमुख देशबाहिर भएकाले सम्पर्क हुन सकेन। यद्यपि, अनौपचारिक रूपमा नयाँ वर्षसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ।
ओभरपास निर्माणका कारण सडक अवरुद्ध हुँदा यात्रुहरूलाई असहज भएको छ। विशेष गरी कार्यालय समयमा १५ मिनेटभन्दा लामो जाम सहनुपर्ने अवस्था रहेको यात्रुहरूको गुनासो छ।