ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ग्वार्को फ्लाइओभर आज शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। सडक विभागका अनुसार फ्लाइओभरको सबै निर्माण कार्य पूरा भइसकेको छ र आज अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गरिनेछ।
यो फ्लाइओभर निर्माण २०७८ पुस २७ मा सुरु गरिएको थियो। दुई वर्षमै काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कार्य तोकिएको समयमै सकिन सकेन। आशिष–समानान्तर–रेलिगियर जेभी नामक ठेकेदार कम्पनीले यो परियोजनाको जिम्मा पाएको थियो। कम्पनीले फ्लाइओभर निर्माणमा अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरेको बताइएको छ।
ईन्जिनियरिङ, प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन (EPC) मोडलमा निर्माण गरिएको फ्लाइओभरको कुल लागत १७ करोड रुपैयाँ रहेको छ। ठेक्का सम्झौताअनुसार समयमै काम नसकिएकाले ठेकेदार कम्पनी पेनाल्टीमा पनि परेको थियो।
अन्ततः यो फ्लाइओभर ३ वर्ष ४ महिनामा निर्माण कार्य सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्न लागिएको हो।