काठमाडौं । काठमाडौं उपत्यकाको व्यस्त चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो ओभरपास उद्घाटन गरेका हुन् । शिलालेख अनावरण प्रधानमन्त्रीले गरे भने रिबन काट्ने काम ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले प्रधानमन्त्रीको आग्रहमा गरेका थिए ।
चक्रपथमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न सरकारद्वारा निर्माण गरिएको यो ओभरपासले सातदोबाटो–कोटेश्वर मार्ग र मंगलबजार–इमाडोल–लुभू रुटमा चल्ने सवारीलाई सहज बनाउने अपेक्षा गरिएको छ । ओभरपासमार्फत चक्रपथका सवारीहरू रोकिनु नपरी सिधै पुलमाथिबाट गुड्न सक्ने छन् भने मंगलबजार र इमाडोलबीचको सवारी ओभरपासमुनिबाट सञ्चालन हुनेछ ।
यो बहुप्रतिक्षित परियोजनाको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले लिएको हो । २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी नामक कम्पनीसँग सम्झौता गरिएको भए पनि समयमा निर्माण पूरा नहुँदा दुईपटक म्याद थप गर्नुपर्यो । अन्ततः २०८१ पुस ८ गते काम सम्पन्न गरिएको हो । निर्माण कार्यबीच केही समय समस्याका कारण गत पुस र माघ महिनामा एक महिना जति काम रोकिएको थियो ।
कुल ५७६.२ मिटर लामो ओभरपासमा ५४० मिटर र्याम्प र ३६.२ मिटर बीचको पुल खण्ड रहेको छ । चौडाइ १६.४ मिटर रहेको ओभरपास चार लेनको सडकको रूपमा निर्माण गरिएको हो । लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइका र्याम्पहरू बनाइएको छ । र्याम्पको दूरी १०.२ मिटर कायम गरिएको छ । निर्माणको क्रममा सातदोबाटोतर्फ जगको माटो असमान रूपमा बस्दा अतिरिक्त समय लागेको केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।
निर्माण ढिलाइले लागतसमेत बढेको छ । प्रारम्भिक ठेक्का लागत १७ करोड ६ लाख रुपैयाँ भए पनि अन्ततः परियोजना ३१ करोड ४६ लाख रुपैयाँमा सम्पन्न भएको हो । यसमा मात्रै १४ करोड थप लागत लागेको छ । निर्माण ढिलाइका कारण निर्माण कम्पनीलाई एक करोड ४७ लाख रुपैयाँ हर्जाना पनि तिराइएको छ ।
भविष्यमा समस्या देखिएमा ठेक्का कम्पनीले निर्माणपछि पाँच वर्ष र डिजाइनपछि १० वर्षसम्म त्रुटि सुधार गर्नुपर्ने व्यवस्था गरिएको छ ।