नेपालमा हवाई दुर्घटना : ९१५ जनाको ज्यान गयो

बुधबार सौर्य एयरलाइन्ससहित नेपालमा हालसम्म ६१ हवाई दुर्घटना भएका छन्। यी दुर्घटनामा ९१५ जनाको ज्यान गएको छ। सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ।

१ माघ ०७९ पछि नेपालमा मानवीय क्षति हुने गरी जहाज दुर्घटना भएको बुधबार नै पहिलो हो। १ माघ ०७९ मा यती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो। आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो क्षति यही दुर्घटनामा भएको हो। बुधबार सौर्य एयरलाइन्सको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो। त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे। १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए। नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जसमा २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए। सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गो र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए। १६ मे २०१८ मा मकालु एयरको जहाज सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो।

नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ। तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ७० वर्षअघि (३० अगस्ट १९५५ मा) कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो। जसमा दुईको मृत्यु र एक घाइते भएका थिए। जहाज अवतरणको क्रममा रनवेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किने जस्ता साना-ठूला दुर्घटना धेरैपटक भएका छन्। यस्ता केही दुर्घटनामा यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ।

त्रिभुवन विमानस्थलपरिसरमै पाँच ठूला दुर्घटना

आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमै पाँच ठूला दुर्घटना भएका छन्। यीमध्ये एउटा दुर्घटनामा मात्रै मानवीय क्षति हुनबाट जोगिएको थियो। त्रिभुवन विमानस्थलमा पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो। त्यसवेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो भने २३ घाइते भएका थिए। त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो।

४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवेभन्दा बाहिर जाँदा दुर्घटनामा पर्‍यो। विमानमा सवार २३५ यात्रु घाइते भएका थिए। उक्त दुर्घटनामा मानवीय क्षति भने भएन। जहाज धावनमार्गमा अड्किँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो। त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस-बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा चालक दलसहित ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो। पछिल्लोपटक मानवीय क्षति हुने गरी बुधबार (९ साउन ०८१) सौर्य एयरको जहाज दुर्घटनामा परेको छ। Nayapatrika daily

प्रतिक्रिया