अन्तर्राष्ट्रिय तथा क्षेत्रीय भूराजनीतिक परिवर्तनहरूले नेपालमा नयाँ सुरक्षा चुनौती उत्पन्न गराएको निष्कर्ष नेपाली सेनाले निकालेको छ। यी चुनौतीहरू सामना गर्न ‘नयाँ रणनीति’ आवश्यक रहेको र राज्यका सबै निकायबीच समन्वय आवश्यक रहेको सेनाको ठहर छ।
सैनिक मुख्यालय जंगी अड्डामा बिहीबारदेखि सुरु भएको दुईदिने पृतनापति समन्वयात्मक बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले हालको विश्व सुरक्षा अवस्था बहुआयामिक, संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गएको बताए। उनले भूराजनीतिक उतारचढावले आन्तरिक तथा बाह्य सुरक्षामा नयाँ चुनौती सिर्जना गर्न सक्ने बताउँदै सबै पक्षबीच समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए।
बैठकमा सैनिक संगठनको अर्धवार्षिक समीक्षा, भूराजनीतिक प्रभाव विश्लेषण, सुरक्षा प्रतिवेदन तयारी लगायतका विषयमा छलफल भएको छ। सहभागी एक उपरथीका अनुसार अमेरिकाले डोनाल्ड ट्रम्पको पुनरागमनसँगै यूएसएआईडी तथा एमसीसीलगायतका सहायता स्थगन गरेपछि त्यसको असरबारे विस्तृत अध्ययन गर्दै मुलुकले कस्तो रणनीति बनाउने भन्नेबारे बैठकले मार्गचित्र तय गर्नेछ।
बैठकमा पछिल्लो समय नेपालमा देखिएका विभिन्न आन्दोलनहरूको समीक्षा समेत गरिने जनाइएको छ। विशेष गरी पाथीभरा केबलकार निर्माणका विषयमा उत्पन्न विवाद तथा मधेसमा देखिएको असन्तोषका कारण राष्ट्रिय सुरक्षामा पर्ने असरबारे छलफल हुने सैनिक अधिकारीहरूले बताएका छन्। बैठकको पहिलो दिन युद्धकार्य तथा सैनिक इन्टेलिजेन्स महानिर्देशनालयसहित विभिन्न निकायका अधिकारीहरूले भूराजनीतिक परिस्थिति र सुरक्षामा पर्ने प्रभावबारे प्रस्तुति दिएका थिए।
बैठक उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले बदलिँदो भूराजनीतिक परिवेश, ध्रुवीकरण र विश्वव्यापी द्वन्द्वले नेपाललाई असर पुर्याउने भएकाले सुरक्षाको पूर्वतयारी आवश्यक रहेको बताए। साथै, जलवायु परिवर्तन तथा कृत्रिम बौद्धिकता (एआई) का कारण आउन सक्ने चुनौतीहरूको सूक्ष्म अध्ययन आवश्यक रहेको उनले जोड दिए।