ललितपुरमा मोटरेबल पुल प्रदर्शनी सुरु, प्रविधि र ज्ञानको साझा मञ्च

नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी सुरु भएको छ, जसमा देशभर निर्माण भएका ८ सयभन्दा बढी पुलको अनुभव, प्रविधि र ज्ञान सार्वजनिक गरिएको छ। ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा मंगलबारदेखि सुरु भएको दुईदिने मेला शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग र स्विस सरकारको विकास सहयोग अन्तर्गतको स्थानीय सडक पुल सहयोग इकाई (LRBSU) को सहकार्यमा आयोजना गरिएको हो।

शहरी विकास मन्त्रालयका सहसचिव गणेशप्रसाद वस्तीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा स्विस राजदूत डा. डेनियल म्युली प्रमुख अतिथि थिइन्। उद्घाटन समारोहमा सातै प्रदेशका सचिवहरू, सडक विभागका प्रतिनिधि, निर्माण व्यवसायी, इञ्जिनियर, विद्यार्थी र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो।

राजदूत म्युलीले नेपाल र स्विजरल्याण्डबीच सन् २०११ मा भएको द्विपक्षीय सहमतिपछि हालसम्म ८ सयभन्दा बढी मोटरेबल पक्की पुल निर्माण भइसकेको उल्लेख गर्दै प्रदर्शनीले सहकार्यको सफलतालाई सार्थक बनाउने बताइन्। उनले यो साझेदारीलाई विकासको मूर्त रूप भन्दै सकारात्मक प्रतिबद्धताको उदाहरणसमेत ठहर गरिन्।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार सचिव भीमार्जुन पाण्डेले स्विस सरकारसँगको सहकार्यको अन्तिम वर्ष भएकाले हासिल उपलब्धि, चुनौती र अनुभूति समेटेर प्रदर्शनी आयोजना गरिएको बताए। उनले जलवायु परिवर्तनको असर, डिजाइनमा आवश्यक सुधार र संकलित ज्ञानलाई प्रस्तुत गर्दै यसलाई शैक्षिक तथा व्यावसायिक रूपमा उपयोगी मञ्चको रूपमा चित्रण गरे।

इकाई प्रमुख शकिल मानन्धरका अनुसार प्रदर्शनीमा पुल निर्माणमा प्रयोग भइरहेका नयाँ प्रविधि, मोडेलहरू, डकुमेन्टरी, डिजाइन ज्ञान र तस्बिरहरूको प्रदर्शनी गरिएको छ। सडक तथा पुल शाखाका प्रमुख भरत कुमार यादवले प्रदर्शनी भावी इञ्जिनियर, विद्यार्थी र नीति निर्माताका लागि महत्वपूर्ण सिकाइको अवसर हुने विश्वास व्यक्त गरे।

जय विष्णु निर्माण सेवा प्रालिका निर्देशक अनिल सिलवालले प्रदर्शनीले “पुल कसरी बन्छ ?” भन्ने सर्वसाधारणको जिज्ञासाको उत्तर दिनेसँगै पुल निर्माण क्षेत्रमा लाग्न चाहनेहरूका लागि व्यावहारिक ज्ञानको स्रोत बन्ने बताए।

प्रदर्शनी मंगलबारबाट सुरु भई बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। आयोजक संस्थाले विद्यार्थी, विज्ञ, नीति निर्माता र आम जनसमुदायलाई सहभागिता जनाई विचार र अनुभव साझा गर्न आह्वान गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय