निर्यात व्यापार १०९ प्रतिशतले बढ्यो


कृष्ण आचार्य, काठमाडौं–मुलुकको वैदेशिक व्यापारमा सुधार आएको छ । निर्यात व्यापारको हिस्सा सानो छ । तर, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यात १०९ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा ६५ अर्ब पाँच करोड रुपैयाँको मात्र निर्यात भएको छ । यो गत वर्षााको सोही अवधिको वर्ष तुलनामा १०९ प्रतिशतले वृद्धि भए पनि निर्यातको हिस्सा निकै सानो छ । गत आवको सोही अवधिमा ३१ अर्ब रुपैयाँको सामान निर्यात भएको थियो । निर्यातमा सबैभन्दा धेरै भारत हुने गरेको छ । निर्यात हुने वस्तुमा सोयाविनको तेल, पाम तेल, पिना, जुटकासामान, धागो लगायतका वस्तुको निर्यात बढेको छ ।


निर्यात व्यापार बढे पनि आयात भने ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा पौने पाँच खर्ब रुपैयाँको वस्तु विदेशबाट आयात भएको छ ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७८÷७९को असोज मसान्तसम्म चार खर्ब ७८ अर्ब ३२ करोड रुपैयाँको वस्तु आयात भएको हो । यो गत वर्षको तुलनामा ६३.७३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा दुई खर्ब ९२ अर्ब २६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।


स्वदेशमा वस्तुको उत्पादन वृद्धि नहुँदा अधिकांश सामान विदेशबाट आउँदा आयात बढेको हो । पेट्रोलिय पदार्थ, यातायातका साधान, पाटपूर्जा, सोयाविनको तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ । रासायनिक लम,सिमेन्ट, सुर्ती,सुगर, दाल लगायत वस्तुको आयात घटेको छ ।


मुलुकमा रेमिटेन्सको आप्रवाहमा कमी र डलरको सञ्चिती घटिरहेको अवस्थामा आयात ह्वात्तै बढेको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात ६३.७३ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा ५८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।


दैनिक उपभोग्य वस्तुको आयात वृद्धि र व्यापार घाटा बढ्नु चिन्ताको विषय भएको अर्थतन्त्रका जानकार बताउँछन् । मुलुकको व्यापार घाटा पोहोरको तुलनामा ५८ प्रतिशतले बढेको छ । गत वर्षको तीन महिनामा दुई खर्ब ६१ अर्ब २२ करोडको व्यापार घाटा रहेकोमा यो वर्ष बढेर चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । 


वस्तुको आयात गर्नका लागि डलर खर्चिनुपर्छ । नेपालमा निर्यातबाट डलर आर्जन निकै कम हुन्छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा करिव १२ प्रतिशत मात्र छ । सामान खरिद गर्नका लागि डलर आवश्यक पर्छ । कोभिड पछि पर्यटनको अवस्था दयनीय भएकाले रेमिटेन्सले धानिरहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको पछिल्लो तथ्यांक (साउन–भदौ)को तथ्यांक अनुसार विप्रेषण आप्रवाहक ६.३ प्रतिशतले कमी आएको छ । दुई महिनामा एक खर्ब ५५ अर्ब ३७ करोड रमिटेन्स आएको छ । गत वर्षको सोही अवधिमा ८.१ प्रतिशतले बढेको भए पनि यो वर्ष रेमिटेन्समा गिरावट आउँदा अर्थतन्त्रमा असर पर्ने देखिएको छ ।


राष्ट बैंकका अनुसार विदेशी विनिमय सञ्चिति घटिरहेको छ । गत असारमसान्तसम्म १३ खर्ब ९९ अर्ब तीन करोड विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउाद्या ६.६ प्रतिशतले घटेको छ । राष्ट बैंकले असोजको तथ्यांक सार्वजनिक गरेको छैन । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तसम्म ११ अर्ब ७५ करोड डलर रहेकोमा भदौ मसान्तसम्म ५.२ प्रतिशतले घटेर ११ अर्ब १४ करोड डलरमा झरेको थियो । असोज र कात्तिकमा आयात वृद्धि भएकाले डलर सञ्चिति अझै घटेको अनुमान गरिएको छ ।


सरकारले औद्योगिकीकरण गरेर उत्पादन वृद्धि गर्ने बताइरहँदा व्यापार घाटाको खाडल वर्षेनी बढ्दै गएको छ । नेपालको एक सय भन्दा बढी मुलुकसँग व्यापार घाटा छ । सरकारले औद्योगिक वस्तुको उत्पादन वृद्धि गर्ने रणनीति तय गरे पनि सफल हुन सकेको छैन । हरेक वर्षको बजेटमा कृषि लगायत औद्योगिक उत्पादन वृद्धि गर्ने नीति लिइए पनि कार्यान्वयन भएको छैन । 

प्रतिक्रिया