शवदाह मेसिन काण्ड: डा. थापासहित १४ जनाविरुद्ध १० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शवदाह मेसिन खरिद गर्दा भएको १० करोड ३३ लाख ९१ हजार रुपैयाँ भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिवादीहरूमा कोषका बहालवाला सदस्यसचिव डा. मिलनकुमार थापा, निमित्त सदस्यसचिव राजुकुमार खत्री, पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडा, पूर्व उपनिर्देशक रेवतीरमण अधिकारी र सीताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, कानुनी सल्लाहकार लैनबहादुर थापा, र इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक युवराज अधिकारी छन्।

ठेकेदार कम्पनी म्याप इन्टरनेसनल प्रालि र सञ्चालक मनोज पुरी तथा यदुनन्दन भट्टराई, साथै परामर्शदाता एप्पल इन्जिनियरिङ प्रोफेसनल र सञ्चालक सुरज चापागाईं पनि प्रतिवादी बनाइएका छन्। सबैमाथि जनही १० करोड ३३ लाख ९१ हजार बराबर बिगो कायम गरिएको छ।

कोषले दुई शवदाह मेसिन खरिद गर्न प्रक्रिया अघि बढाएको थियो। तर अख्तियारका अनुसार अनुभव नभएका परामर्शदाता र ठेकेदारसँग मिलेमतो गरी लागत अनुमान बढाइएको, फर्जी कोटेसन बनाइएको, नक्कली विज्ञ राखिएको, मापदण्ड मिलाएर मनपर्ने कम्पनीलाई ठेक्का दिने जस्ता अनियमितता गरिएको थियो।

प्रमुख अनियमितता यस प्रकार छन्:

  • अनुभव नभएको परामर्शदाता छनोट

  • फर्जी कोटेसनको आधारमा मूल्य निर्धारण

  • लागत अनुमान कृत्रिम रूपमा बढाइयो (५२ लाख पर्ने मेसिन १.५२ करोड बनाइयो)

  • नक्कली विज्ञको सहायताले गलत प्रतिवेदन

  • भुक्तानी पेस्कीमै, काम नहुनु अघि नै पैसा तिरियो

  • जडानपछि बारम्बार समस्या देखिने न्यून गुणस्तरको मेसिन स्वीकार

यसअघि डा. थापा पशुपतिनाथ मन्दिरको जलहरी खरिद प्रकरणमा पनि भ्रष्टाचार आरोपमा मुद्दा खेपिसकेका छन्। विशेष अदालतबाट सफाइ पाए पनि अख्तियारले सो फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ।

प्रतिक्रिया