☰

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन संशोधन, बैंकको लगानी नीतिमा नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै नयाँ परिपत्र जारी गरेको हो ।

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८३/८४ मा कायम गर्नुपर्ने काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत निर्धारण गरिएको छ । यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि पनि यस्तो बफर शून्य प्रतिशत नै कायम गरिएको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानीलाई थप पारदर्शी र व्यवस्थित बनाउन लगानी नीति तथा कार्यविधिमा संशोधन गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले सरकारी सुरक्षणपत्र, राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाका शेयर र डिबेञ्चरलगायतका उपकरणमा लगानी गर्नुअघि सट्टेबाजीसम्बन्धी जोखिम न्यूनीकरण गर्ने स्पष्ट नीति बनाउनुपर्नेछ । यस्तो नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ निर्देशनअनुसार सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा बैंकहरूले कम्तीमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउनेछन् । यसअघि यस्तो लगानी कम्तीमा ६ महिनाभन्दा बढी अवधिका लागि मात्र गर्न पाइने व्यवस्था थियो । तर अन्य कुनै व्यवस्था वा प्रबन्धमार्फत अल्पकालीन लगानी गर्न नपाइने नियमलाई भने निरन्तरता दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय