साउन–भदौमा ४ खर्ब १ अर्बको आयात, व्यापार घाटा ३ खर्ब २५ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा ४ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले बढेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । साउनमा १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा भदौमा यो बढेर २ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष सो अवधिमा आयात ९६ अर्ब ३६ करोड रुपैयाँले बढेको छ ।

आयात बढ्नुमा केही वस्तुको अन्तर्राष्ट्रिय मूल्य वृद्धि, चाडपर्व लक्षित उपभोग्य वस्तुको माग, पेट्रोलियम पदार्थको आयात तथा रसुवा बाढीका कारण बढेको अत्यावश्यक वस्तुको खपत मुख्य कारण देखिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा केही वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव आयात रकममा परेको छ । समान परिमाणमा वस्तु आयात भए पनि मूल्य बढेका कारण कुल आयात रकम बढ्ने गरेको छ ।

त्यस्तै, साउन र भदौमा दसैं, तिहारलगायतका ठूला चाडपर्वलाई लक्षित गरेर विभिन्न उपभोग्य वस्तुको आयात हुने भएकाले पनि आयात बढेको देखिन्छ । चाडपर्वका समयमा बजारमा माग बढ्दा त्यसअनुसार वस्तु आयातसमेत बढेको हो ।

पेट्रोलियम पदार्थको आयातले पनि समग्र आयातमा प्रभाव पारेको छ । विशेषगरी साउन र भदौमा खाना पकाउने ग्यासको खपत बढेको देखिएको छ । ग्याससहित पेट्रोलियम पदार्थको आयात बढ्दा कुल आयात रकमसमेत बढेको हो ।

यसैगरी, रसुवा बाढीका कारण आपूर्ति प्रणालीमा परेको असर र विभिन्न वस्तुमा भएको क्षतिले केही अत्यावश्यक वस्तुको खपत बढाएको छ । आपूर्ति व्यवस्थामा आएको अवरोधपछि माग पूरा गर्न ती वस्तुको आयात बढेको देखिन्छ ।

आयातसँगै निर्यातमा भने अझ उच्च वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यस अवधिमा निर्यात ६१.८६ प्रतिशतले बढेको छ । निर्यातको वृद्धिदर आयातको तुलनामा करिब दोब्बर भए पनि आयातको कुल आकार ठूलो भएकाले व्यापार घाटा भने बढेको छ ।

पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ थियो । यस वर्ष व्यापार घाटा २६.०२ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ थियो । यस वर्ष कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेको छ ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३.९८ प्रतिशत र निर्यातको हिस्सा १६.०२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४२ प्रतिशत रहेको थियो ।

यससँगै आयात र निर्यातबीचको अनुपात पनि केही सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ रुपैयाँ बराबरको निर्यात हुँदा ६ रुपैयाँ ४५ पैसा बराबरको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात घटेर ५ रुपैयाँ २४ पैसामा आएको छ ।

प्रतिक्रिया