अर्थमन्त्री शर्माको अल्पज्ञानको अभिव्यक्ति, तोकिए भन्दा दुई सय गुणा बढी राजस्व संकलन सम्भब छ ?


सिन्धुपाल्चोक–अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन् ।


अर्थमन्त्रीका प्रेस संयोजक सचिन रोका काअनुसार मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले भने ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ ।’


तर, अर्थमन्त्री शर्माको यो हास्यास्पद अभिव्यक्ति हो । अर्थमन्त्रीले दुई सय गुणा बढी राजस्व संकलन गर्ने बताएका छन् । यो सम्भव नै छैन । दुई सय गुणा होइन दुई गुणा बढी राजस्व संकलन पनि सम्भव छैन । किनकी यो वर्ष सरकारले १० खर्ब ६७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । दोब्बरनै हुँदा पनि २१ खर्ब ३४ अर्ब रुपैयाँ हुन्छ । सरकारले हरेक वर्ष २० प्रतिशत वृद्धिको हाराहारीमा राजस्व संकलन वृद्धिको लक्ष्य लिए पनि अर्थमन्त्रीले असम्भव हुने कुरा व्यक्त गरेका छन् ।


यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।


मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिए । उनले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिए । ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ ।’


तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए । नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुग्नुभएका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका थिए । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।


सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्नीप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुगेका थिए । 
 

प्रतिक्रिया