बैंकहरूका लाभांशमा गिरावट, १० वाणिज्य बैंक मात्र वितरणमा सफल

काठमाडौं। अर्थतन्त्रमा आएको संकुचनका कारण वाणिज्य बैंकहरूको वितरणयोग्य नाफामा ठूलो दबाब परेको छ। यसपटक १९ वाणिज्य बैंकमध्ये १० बैंक मात्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न सफल भएका छन्।

हालसम्म १४ बैंकले साधारणसभा आह्वान गरिसकेका छन्। तीमध्ये १० बैंकले मात्र लाभांश दिने निर्णय गरेका छन् भने बाँकी ४ बैंकले वितरणयोग्य नाफा अभावका कारण लाभांश नदिने निर्णय गरेका छन्।

सबैभन्दा बढी लाभांश विदेशी लगानी भएका बैंकहरूले बाँडेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५.५ प्रतिशत लाभांश (६.५ प्रतिशत बोनस र १९ प्रतिशत नगद) घोषणा गर्दै अग्रस्थानमा छ। गभर्नर महाप्रसाद अधिकारीले संकटको समयमै उच्च लाभांश वितरण गरेको भन्दै बैंकको प्रशंसा गरेका छन्।

दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद) दिएको छ। यस्तै, नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत (३.८ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद) लाभांश दिएको छ।

लाभांश नदिने सूचीमा प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, र हिमालयन बैंक छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, र एनआईसी एसिया बैंकले पनि लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।

नबिल बैंकले यसपटक १० प्रतिशत नगद लाभांश बाँडेको छ। तर, यसको टायरवान क्यापिटल ९ प्रतिशतमा झर्ने देखिएको छ, जसले बैंकको पुँजीकोषमा दबाब बढाएको छ।

ग्लोबल आईएमई बैंकले यसवर्ष ५.५ प्रतिशत बोनस सेयर वितरण गरेको छ। सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिएको छ भने लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत (५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद) लाभांश घोषणा गरेको छ।

प्राइम कमर्सियल बैंकले यस वर्ष ५ प्रतिशत नगद लाभांश दिएको छ भने सिटिजन बैंकले ४.२१ प्रतिशत (४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद) लाभांश दिएको छ।

गत वर्ष १३.३ प्रतिशत बोनससहित १४ प्रतिशत लाभांश दिएको माछापुच्छ्रे बैंकले यसपटक लाभांश घोषणा नगर्ने निर्णय गरेको छ।

बैंकहरूको लाभांश दरमा गिरावट मुख्यतः अर्थतन्त्रमा आएको सुस्ती र वितरणयोग्य नाफामा कमीका कारण भएको देखिन्छ।

प्रतिक्रिया