सोमबार नेप्सेमा ५७ अंकको गिरावट, बजार २६०० विन्दुभन्दा तल

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा पुगेको छ। बजार लगातार घट्दै जाँदा परिसूचक करिब २ महिनापछि २ हजार ६०० विन्दुभन्दा तल झरेको हो।

यो दिन कारोबार पनि घटेको छ। ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको १० अर्ब ३३ करोड रुपैयाँभन्दा कम हो। राम्रा कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ४६०.११ विन्दुमा पुगेको छ।

बजार केहि समययता अस्थिर हुँदै तल झरिरहेको छ। अघिल्लो साताको अन्तिम दिन बिहीबार बजार बढेको भए पनि यो साता लगातार घटिरहेको छ। बजार लगातार घटेपछि लगानीकर्ताहरू निराश बनेका छन्। यस दिन २२७ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य बढेको छ। ३ कम्पनीको मूल्य स्थिर रह्यो।

दिनभरको उतारचढावका बीच शेयर बजार घटेर बन्द भएको छ। तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा आत्मनिर्भर लघुवित्त, जनउत्थान लघुवित्त र हिमालय हाइड्रोपावर छन्।

रावा इनर्जीको शेयरमूल्य ५.३७ प्रतिशत बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य ९.३६ प्रतिशत र नेपाल फाइनान्सको शेयरमूल्य ८.४२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ, जसको ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सानीमा रिलाइन्स लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्सका पनि उच्च कारोबार भएका छन्।

नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक घटेको छ। सबैभन्दा बढी वित्त उपसमूहको परिसूचक ५.६६ प्रतिशतले घटेको छ। होटल्स एन्ड टुरिजम उपसमूह, लघुवित्त, व्यापार, लगानी, विकास बैंक लगायतका उपसमूहहरु पनि २ प्रतिशतभन्दा बढीले घटेका छन्।

सोमबार वाणिज्य बैंकहरुले असोजका लागि ब्याजदर थप घटाएका छन्। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि दैनिक रुपमा तरलता संकलन गरिरहे पनि बजारले उकालो लाग्ने कुनै संकेत देखाएको छैन। तर नियामक निकायहरूको सक्रियताले बजारले केही दिनपछि सुधारको संकेत देखाउन सक्ने आशामा लगानीकर्ताहरू रहेका छन्।

प्रतिक्रिया