पाकिस्तानी सेनाले भारतले गरिरहेको ड्रोन आक्रमणको पुष्टि हुने गरी हालैका दिनमा २५ वटा इजरायल निर्मित 'हारोप' ड्रोन खसालेको दाबी गरेको छ। बुधबार रातिदेखि भारतले पाकिस्तानी भूमिमा ती ड्रोनहरू प्रयोग गरेर आक्रमण गरिरहेको र सो क्रममा पाकिस्तानले तीमध्ये धेरै ड्रोन नष्ट गरेको जानकारी पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा पाकिस्तानले आफ्नो प्राविधिक तथा सैन्य क्षमता प्रयोग गरी इजरायली ड्रोनहरू खसालेको दाबी गरेको छ। त्यस्तै, बुधबार मात्र पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको पनि जनाएको छ, जुन उसले ठूलो सैन्य उपलब्धिको रूपमा प्रस्तुत गरेको छ।
पाकिस्तानी सेनाका अनुसार भारतले आफ्ना विमान र चौकीहरू गुमाएको त्रासमा हारोप ड्रोन प्रयोग गरेर आक्रमण तेज बनाएको हो। इजरायलमा निर्मित ती ड्रोनहरू पाकिस्तानका विभिन्न स्थानहरूमा खसेको र तिनका भग्नावशेष संकलन गरिरहेको सेनाले बताएको छ।
द डनका अनुसार पाकिस्तानका लाहोर, अटोक, गुजरानवाला, चकवाल, रावलपिन्डी, बहावलपुर, मियानो, उमरकोट र कराँची नजिकै ड्रोन खसाइएको हो। यसैक्रममा लाहोर नजिकैको सैन्य क्षेत्रमा गरिएको आक्रमणमा पाकिस्तानी सेनाका चार जना घाइते भएका छन्। साथै, मियानोमा एक नागरिकको मृत्यु र अर्को व्यक्ति घाइते भएको जानकारी छ।
यसबीच, भारतीय समाचार संस्था एएनआईले भने भारतीय सेनाले पाकिस्तानको हवाई रक्षा प्रणालीलाई लक्षित गर्दै 'हार्पी' ड्रोन प्रयोग गरिरहेको जनाएको छ। ती ड्रोनहरू उच्च विस्फोटक पदार्थसहित राडार प्रणालीमा आक्रमण गर्न डिजाइन गरिएको बताइएको छ।