काठमाडौं– सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईफमा काम गर्ने कर्मचारी, एम्बुलेन्स चालक, ७५ वर्ष पुगेका जेष्ठ नागरिकलाई खोप लगाउने बताउँदै आएको थियो । त्यो सूचीमा खोप लगाउने अन्य समूहलाई पनि थप गरिएको छ ।
सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई पनि कोरोना खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप दिने निर्णय गरेको छ । मन्त्रालयले खोपका लागि तयार पारेको लक्षित समूहको पहिलो चरणको प्राथमिकतामा पत्रकार र कूटनीतिक नियोगका कर्मचारी नभए पनि अहिले थप गरेको छ ।
सूचीमा परेका जेष्ठ नागरिक, दीर्घरोगी लगायतले खोप लगाउन नपाउँदै पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई दिन लागिएको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भएको छ ।
भारतले अनुदानमा १० लाख खोप दिएपछि सरकारले १४ माघमा खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने लक्ष्यसहित अभियान थालिएको थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जना फ्रन्टलाइनरले मात्र खोप लगाए ।
यो संख्या मन्त्रालयले पहिलो चरणमा लिएको लक्ष्यको ४३ प्रतिशत मात्रै हो । काउन्सिलिङ नपुगेकाले अपेक्षाअनुरुप फ्रन्टलाइनरहरुले खोप नलगाएको मन्त्रालयकै अधिकारीहरुले बताए ।
यसैबीच सेरम इन्स्टिट्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप खरिदको प्रकिया अघि बढेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले ‘कोभिसिल्ड’ खोप खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको अनुरोध र खोप समितिले पठाएको पत्रको रेस्पोन्स आएकाले खोप खरिद प्रकिया अन्तिम चरणमा पुगेको तिंकरी बताउँछन् ।
कोभ्याक्स सुविधाबाट पहिलो चरणमा साढे २२ लाख खोप आउने निश्चित भएको छ भने चीन सरकारले अनुदानमा पाँच लाख डोज उपलब्ध गराउने घोषणा गरेको छ ।