बाली तथा पशुपंक्षी बीमा निर्देशिका परिमार्जन

काठमाडौं–बीमा समितिले पुरानो बाली तथा पशुपंक्षी बीमा निर्देशिकालाई परिमार्जन गरेको छ । नयाँ ‘कृषि तथा पशुपंक्षी बिमा निर्देशिका २०७७’ अनुसार बीमा कम्पनीले वार्षिक रुपमा बिक्री गर्ने कूल बिमा लेखमध्ये कम्तिमा ५ प्रतिशत कृषि तथा पशुपंक्षीको हुनपर्ने व्यवस्था गरेको छ ।

कृषि तथा पशुपंक्षी बिमा क्षति मूल्यांकनकर्ताले बिमा गरिएको वस्तुको क्षति स्पष्ट देखिने गरी विभिन्न कोणबाट आफैंले खिचेको कम्तिमा ५ वटा फोटो र कम्तिमा तीन मिनेटको भिडियो क्लिप क्षति मूल्यांकन प्रतिवेदनमा राख्नुपर्ने वयवस्था गरिएको छ । क्षति मूल्यांकनकर्ताले प्रतिवेदन पेश गरेको ३५ दिन बीमकले दायित्व एकिन ठहर गरी बीमितलाई दाबी भुक्तानी गर्नु निर्देशिकामा व्यवस्था छ ।

सरकारले कृषि र पशुपालनलाई व्यवसायीकरण गर्नको लागि बाली र पशु बिमा गर्ने किसानलाई अनुदान उपलब्ध गराउँछ । किसानको जोखिम न्यूनिकरण गरी उत्पादन बढाउन टेवा पुगोस भनेर पशु र कृषि बिमा लाग्ने प्रिमियम शुल्क ७५ प्रतिशतसम्म अनुदान दिएको हो । बीमा गरेपछि दुर्घटना, प्राकृतिक विपत्तिले क्षती भएमा किसानले बिमा बापतको रकम पाउँछन् । किसानले गाईभैंसी, बाख्रा, बंगुर, माछा, बालीनालीको बीमा गर्ने गरेका छन् । बीमा गर्दा एक सय रुपैयाँ लाग्यो भने किसानले २५ रुपैयाँ लगानी गर्ने र सरकारले किसानलाई ७५ रुपैयाँ उपलब्ध गराउँछ ।

पशुको दुर्घटना, रोग प्रकोपले मृत्यू भएमा वा उत्पादन नदिएमा किसानले बीमा माग दाबी गरे पछि सम्बन्धित कम्पनीले मूल्यांकन गरेर बीमा रकम पाउँछन् । सरकारले किसानलाई प्रदान गर्ने अनुदानको लागि अनिवार्य सर्त बनाएको छ । बाली तथा पशुको उत्पादन लागतको आधारमा बिमांक रकम निकालेर बिमा गर्ने व्यवस्था मिलाइन्छ ।

बिमाको प्रिमियम शुल्क, बाली, पशु, माछा, कुखुरामा फरक–फरक छ । बालीमा उत्पादन लागतको पाँच प्रतिशत, माछाको दुई प्रतिशत, माछा पोखरीको एक प्रतिशत, पशुकोको पाँच प्रतिशत र ब्रोइल कुखुराको १.२५ प्रतिशत प्रिमियम लाग्छ । बीमा गरिएको कृषिजन्य वस्तु तथा पशुपंक्षी पूर्ण रुपमा क्षती भएमा बीमांक रकमको ९० प्रतिशत र आंशिक क्षती भएमा तीको मूल्यांकन तथा बीमा लेखमा उल्लेख भए अनुसार रकम पाउने व्यवस्था छ ।
किसानले खेती गरेका खाद्यान्न बाली, दलहन, फलफूल, तरकारी, मसला, तेलहन, च्याउ बाली, पशुपंक्षी, मौरी, माछाको बिमा गर्दै आएका छन् ।

प्रतिक्रिया