सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ। अस्पताल परिसरमा उपचार नपाएर सडकमा सुत्केरी भएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको हो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार डा. उषा देव, स्टाफ नर्स अनिता कुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर केष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको छ।
उनका अनुसार घटनाबारे छानबिन गर्न गठन भएका विभिन्न समितिको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म तथा अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई कामकाजबाट हटाइएको हो।
मंगलबार राति प्रसूति गराउन श्रीमान् हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले अस्पताल बाहिर सडकमा बच्चा जन्माएकी थिइन्। उक्त घटनाको भिडियो तथा विवरण सार्वजनिक भएपछि अस्पतालको सेवा प्रवाहमाथि प्रश्न उठेको थियो।
बबिताका परिवारले रगत परीक्षणका लागि आवश्यक रकम अपुग भएपछि आफूहरू अस्पतालबाट बाहिरिनुपरेको दाबी गरेका छन्। तर अस्पताल प्रशासनले भने परिवारले गरेको उक्त दाबी सही नभएको बताउँदै आएको छ।
घटनाबारे विभिन्न समितिले छानबिन गरिरहेका कारण अन्तिम प्रतिवेदन आएपछि मात्रै घटनाको वास्तविक अवस्था थप स्पष्ट हुने अस्पताल प्रशासनले जनाएको छ।