काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
एक नेताका अनुसार थापाले शनिबार पूर्वउपसभापति खड्कासँग र आइतबार नेता डा. कोइरालासँग भेटवार्ता गरेका हुन्। कांग्रेसका एक पदाधिकारीले सभापति थापाको दुवै नेतासँग भेट्ने पूर्वनिर्धारित योजना रहेको जानकारी दिए।
ती पदाधिकारीका अनुसार भेटवार्तामा पार्टीको आसन्न महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भएको छ। भेटमा भएका कुराकानीका विषय सभापति थापाले कार्यसम्पादन समितिको बैठकमा जानकारी गराउने बताइएको छ।
आसन्न महाधिवेशन तथा भोटेकोशी बाढीपछि राहत, पुनर्निर्माणलगायत विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ।
खड्का र कोइरालासँगको संवादलाई निरन्तरता दिने उद्देश्यले वडा तहका अधिवेशनको कार्यतालिका करिब एक साता सार्ने तयारीसमेत गरिएको छ। तर केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राख्ने कांग्रेसको तयारी छ। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म गर्ने कार्यतालिका छ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने गरी अघि सारेको कार्यतालिकाप्रति खड्का र कोइराला सहमत देखिएका छैनन्। देउवा पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने क्रममा बोलाएको बैठकमा समेत खड्का र कोइराला सहभागी भएका थिएनन्।
त्यस्तै, देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको अन्तिम दिनसमेत खड्का र कोइराला सहभागी नभएको बताइएको छ।