भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३२३ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले मुलुकका विभिन्न भागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि सुरु भएको खोजी तथा उद्धार कार्य अझै जारी छ।

शुक्रबार राति ८ बजेसम्मको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ३२३ जनाको शव फेला परेको छ। बाढीले बगाएर विभिन्न जिल्लामा पुर्‍याएका शव खोजीका क्रममा फेला परेका हुन्।

सबैभन्दा धेरै चितवनमा ३६० जनाको शव भेटिएको छ। त्यस्तै, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१५, नुवाकोटमा १९२ र रसुवामा १५६ जनाको शव फेला परेको छ। गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको विवरणमा उल्लेख छ।

फेला परेका शवको पहिचान र सुरक्षित व्यवस्थापनका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाएका छन्। हालसम्म २२२ महिला र ३५५ पुरुष गरी ५७७ शवको सनाखत भएको छ। पहिचान खुल्न नसकेका ४५३ सहित कुल १ हजार ३१० शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

शवको वैज्ञानिक रूपमा पहिचान गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी कुल २ हजार १०६ वटा डिएनए नमुना संकलन गरिएको छ।

अझै पहिचान हुन नसकेका १ हजार २७० शवको विवरण आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ। यसबाट आफन्तलाई बेपत्ता तथा मृतकको खोजी र पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ।

यस्तै, बाढीमा बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी कार्य जारी रहेको छ। खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार फिल्डमा सुरक्षा निकायका ७ हजार ९१२ जना कर्मचारी खटिएका छन्।

बाढीका कारण जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न जिल्लामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ६५५ जना आश्रय लिइरहेका छन्।

स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थासँगको समन्वयमा सुरक्षाकर्मीले बाढीका कारण अवरुद्ध सडक तथा बाटो खुलाउने र यातायात सञ्चालनमा ल्याउने कामसमेत गरिरहेका छन्।

प्रतिक्रिया