काठमाडौँ —बैंकहरुमा कर्जा प्रवाह बढेको छ । असोज दोस्रोसाता सम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा करिब ८४ अर्ब रुपैयाँ पुगेको छ । पछिल्ला महिनामा लगातार ब्याजदर घटिरहँदा कर्जा विस्तारले पनि गति लिन थालेको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा बैंक तथा वित्तीय संस्थाले १४ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत भदौमा कर्जा प्रवाह बढेर ६० अर्ब पुगेको थियो । गत आर्थिक वर्षको साउनमा ४ अर्ब ३५ करोडले बैंकहरूको ऋण प्रवाह घटेको (वृद्धिदर ऋणात्मक) थियो । भदौ मसान्तसम्ममा ३३ अर्ब कर्जा प्रवाह भएकामा असोज १४ सम्म बैंकहरूको कुल कर्जा प्रवाह ३१ अर्ब मात्र थियो ।
०७९ फागुनमा सबैभन्दा धेरै १३.०३ प्रतिशत औसत ब्याजदर पुगेकामा त्यसयता निरन्तर घट्दै आएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर २०८० साउनमा १२.२४ प्रतिशत थियो । त्यसयता घट्दै आएर ०८१ साउनमा ९.६८ प्रतिशत भएको छ । विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर पनि घटिरहेको छ ।
राष्ट्र बैंकको लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले यो वर्ष थप ६ खर्ब ५४ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार गर्नुपर्ने हुन्छ । गत वर्ष साढे ११ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखिएकामा ७ प्रतिशत हाराहारी अर्थात् ३ खर्ब ४४ अर्ब ७२ करोड मात्र प्रवाह भएको थियो । चालु आर्थिक वर्षको करिब साढे दुई महिनाको प्रारम्भिक तथ्यांक र आयातमा गत साउनको तुलनामा भदौमा भएको वृद्धिलगायत तथ्यांकको विश्लेषणले आर्थिक गतिविधि क्रमिक रूपमा सुधारोन्मुख देखाएको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए ।
बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) गत आइतबारसम्म ७८.९५ प्रतिशत छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६५ खर्ब ६४ अर्ब रुपैयाँ छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन पाउँछन् ।