काठमाडौ । आपसी सद्भाव, मित्रता र हर्ष उल्लासको पर्व फागु (होली) वा होरी आज एकापसमा रंङ खेलेर मनाइँदैछ । फागुका अवसरमा आज गाउँवस्ती तथा शहर बजारका चोकहरुमा भेला भएर हर्ष खुशीका साथ रंगीन होरी वा होली खेल्नेहरुको जमघट भइरहेको छ ।
फागु, वसन्तउत्सव वा रंङहरुको पर्व समेत भनिने होली पर्व हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ । आजभन्दा सात दिन अघि अर्थात फागुन शुक्ल अष्टमीका दिन पाशुपतक्षेत्रको श्लेष्मान्तक वनबाट ल्याइएको मयलको लिङ्गोमा रगीचङ्गी वस्त्रको तीन तले छत्र बनाई वसन्तपुर दरबार अगाडि चीर ठडयाएपछि फागु शुरु हुने गर्छ ।
पहाडी क्षेत्रमा फागुका अवसरमा होरी गीत गाउनुका साथै नाचगान गरी अन्न र दक्षिणा संकलन गरेर पूर्णिमाका दिन भोज समेत खाने चलन छ । पौराणिक प्रसंगअनुसार हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई विष्णुभक्तिबाट छुटाउन नसकेपछि बह्माद्वारा आगोले नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रल्हादकाखमा लिएर अग्निमा पस्न लगाउँदा होलिका जलेर मरेको र प्रल्हाद सकुशल रहेको स्मरणमा होलिका दहन गरी होली वा फागु खेल्न थालिएको पाइन्छ ।
यसैको आधारमा तराई क्षेत्रमा होलिका दहनबाट प्राप्त भएको खरानी बालबालिकालाई लगाइदिने गरिन्छ । यसो गर्नाले बालबालिकालाई दुष्टात्माले दुःख नदिने विश्वास छ ।