काठमाडौं–नेपालको पुँजी बजारमा निजी लगानीका कम्पनी धमाधम पब्लिक कम्पनी बनेर सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरेको बेला अर्को एक कम्पनीले पनि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । करिव ५५ अर्ब रुपैयाँ लाग्ने मुक्तिनाथ केबलकार कम्पनीले निर्माण अघि बढाएर उक्त परियोजनामा सर्वसाधारणको पनि लगानी जुटाउन आईपीओ जारी गर्ने योजना बनाएको छ ।
५५ अर्ब रुपैयाँ मध्ये २० प्रतिशत स्वपुँजी र बाँकी ८० प्रतिशत स्वदेशी तथा वैदेशिक लगानीमार्फत् जुटाइने योजना बनाइएको छ । जसमा २० प्रतिशत अन्तर्गत ९ प्रतिशत लगानी आइपीओ जारी गरेर जुटाउने योजना छ । ११ प्रतिशत लगानी लगानीकर्ताहरु आफैले जुटाउनेछन् । त्यसबाहेकको ८० प्रतिशतमध्ये २८÷२९ प्रतिशत लगानी ऋणपत्र जारी गरी जुटाइने छ भने बाँकी लगानी बैंकबाट ऋण लिइनेछ ।
पर्यटकीय नगरी पोखराबाट हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मुक्तिनाथ पुग्नका लागि केबलकार बनाउने योजना रहेको आयोजनाका अध्यक्ष अरुण सुवेदीले बताए । उक्त आयोजनाको आईपीओ पनि जारी गर्ने सुवेदीले बताए । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको तीन पुगेको छ ।
हाल वार्षिक १० लाखभन्दा बढी यात्रु तथा पर्यटकहरु मुक्तिनाथसम्मको यात्रा गरिरहेकाले यो परियोजना सफल हुने लगानीकर्ताको विश्वास छ ।
मुक्तिनाथ केबुलकार नविनतम प्रविधिमा आधारित हुनेछ । यसका लागि ६ सय रोपनीभन्दा बढी निजी जग्गा खरिद वा लिजमा लिनुपर्नेछ भने बाँकी जग्गा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत रहनेछ ।
आयोजना कास्की जिल्लाको नयाँपुल वा बिरेठाँटी (१ हजार १२ मिटर उचाइ) देखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म (३ हजार ६४२) मिटर उचाइसम्म निर्माण हुनेछ । जसको कुल लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबुलकारको तल्लो स्टेशनदेखि माथिल्लो स्टेशनसम्मको उचाइ २.६३ किलोमिटरको हुनेछ ।
यो केबुलकार प्रणालीमा ३२० वटा विभिन्न ८ प्रकारका टावर निर्माण गरिनेछ । यसरी हेर्दा पोखराबाट मुक्तिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले यात्रा गर्ने यात्रुलेले मुक्तिनाथ मन्दिरसम्मको आवतजावत र पूजाआजा समेतलाई करिब सवा ९ घण्टा लाग्ने भएकाले पहिलो र दोस्रो घण्टामा पोखरादेखि यात्रा शुरु गर्ने यात्रु मात्रै पोखरामा सोही दिन फर्कन सक्नेछन् । यसरी हेर्दा दैनिक ५ हजार २०० जना यात्रुमध्ये करिब १ हजार जनाले मात्रै सोही दिनको यात्रा पूरा गर्न सक्नेछन् भने बाँकी ४ हजार २ सय यात्रुले कुनै न कुनै स्टेसनमा रहेका होटल तथा लजमा रात बिताउन बाध्य हुनेछन् । यसरी उक्त क्षेत्रमा पर्ने होटलहरुको व्यापार व्यवसायमा पनि उल्लेख्यरुपमा वृद्धि हुने आँकलन गरिएको छ ।
यो केबुलकार गण्डकी प्रदेशका तीन जिल्ला र पाँच वटा गाउँपालिका हुँदै जाने गरी डिजाइन गरिएको छ । जसमा पर्वत जिल्लाको मोदी गाउँपालिका, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका तीन वटा थासाङ, धरापजोङ र बारगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा यो आयोजना निर्माण हुनेछ ।