काठमाडौं, बैशाख ८ — देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव जारी रहँदा हाल अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा अन्य भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्चपहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षासहित हिमपात पनि हुन सक्ने देखिएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाले वर्षा, चट्याङ र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ।