लघु कथा: बिस्कुन

जतनले हुर्काई, फलाइ पकाएको अन्नवाली, जनतन सिहारि भकारिमा थन्काएका थिए माथिल्ला पाटे दाइले। मुसा, घुन, ठुँडी र चिल्यासाले ठुग्न थाले। वर्षभरि जहानपरिवारलाई पुग्ने अन्न मुसा, घुन, ठुँडी र चिल्यासाबाट जोगाउन घाममा सुकाउन गुन्द्री विछ्याइ बिस्कुन आँगनमा लगि सुकाएका थिए।

सुकाएकै बेला परेवा र भँगेराले खाँदै, खेल्दै र गुन्द्रीबाट बाहिर हुरेल्दै गर्न थाले। चरा न हुन्, कति पो खालान भनेर अन्नवालाले मन बुझाउन थाले र साँझपख बटुले। बिस्कुन सुकिसकेको थिएन। भोलिपल्ट पनि आँगनमा सुकाउन थाले। बिस्कुनमा रजाई गर्न परेवा र भँगेराको साथमा कौवा समेत थपियो। खाने र हुरल्ने काम बढ्दै गयो। अन्न घट्दै गयो। अन्नवाला हेर्दै र गुन्दै छन् र पनि हरेश खाएका छैनन्।

अन्न फेरि बटुली बोरामा राखे।

सुकाउन अझै खाँचो थियो।

तेस्रो दिन पनि बिस्कुन सुकाउन गुन्द्री विछ्याइ आँगनमा फिंजारे। फिंजारेको केहीछिन पछि, परेवा, भँगेरा, कौवा र हेमान्का गिद्धहरु पनि थपिएर बिस्कुनमा रजगज मचाउँदै, खाँदै, रमाउँदै आँगनमा छरपस्ट पार्दै र उफ्रदै गर्न थाले। बचेको अन्नमा भ्वात्त पार्दै विष्टाइ दिए। घुन, ठुँडे र चिल्यासा भुटिए। बाँकी बिस्कुनको रजाइँ ठूलाबडा, ठालु र झोलेहरुलाई भयो। अन्नवाला माथिल्ला पाटे दाइ हेरेको हेरै भए।

  • दुर्गा शर्मा, बुटवल, नेपाल

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय