काठमाडौं — मंगलबारको तीव्र उछालपछि नेपाली सेयर बजार बुधबार पुनः ओरालो लागेको छ। प्रि-सेसनमै सकारात्मक देखिएको बजार खुलेको केही मिनेटमै उच्च अंकले उचालिएपछि धेरैले आज पनि तीव्र वृद्धि हुने अनुमान गरेका थिए। तर अन्तिम घण्टामा बजार घट्दै गयो।
करिब डेढ महिनाको प्रतिक्षापछि नेपाल राष्ट्र बैंकले डा. विश्व पौडेललाई १८औं गभर्नरको रूपमा नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गरेपछि त्यस दिन बजारमा उछाल आएको थियो। त्यसको लहर आजसम्म कायम रहने धेरैको अपेक्षा थियो। सुरुवातमा नेप्से परिसूचकले २७७२ बिन्दु छोए पनि त्यसपछि बजार निरन्तर ओरालो लाग्यो।
बुधबार नेप्से सूचक ६.९३ अंकले घटेर २६७०.५१ बिन्दुमा पुगेको छ। दिनभर ३१६ कम्पनीको २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।
बजारमा ९३ कम्पनीको मूल्य बढेको छ भने १५३ कम्पनीको घटेको छ। सूचकको हिसाबले पनि अधिकांश हरियालीमा रहे पनि अन्ततः केवल चार वटा सूचक मात्रै हरियालीमा टिक्न सके।
राधी जलविद्युत कम्पनीको ७१ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भयो। माउण्टेन इनर्जी, ङादी ग्रुप, युनिभर्सल पावर, हिमालयन रि-इन्स्योरेन्सलगायत कम्पनीको पनि उच्च कारोबार देखिएको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर फेरि पनि सकारात्मक सर्किटमा कारोबार भयो। यस्तै, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमा समेत वृद्धि भएको छ।
तर, श्वेत गंगा हाइड्रोपावर, मातृभूमि लघुवित्त, बोटलर्स नेपाल (बालाजु), र बाराही हाइड्रोपावर जस्ता कम्पनीको मूल्य भने घटेको छ।