मौद्रिक नीति समीक्षा: कर्जा प्रवाह सुस्त, सञ्चिति भने बलियो

काठमाडाैं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको जनाएको छ। बैंकले मुद्रास्फीति ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिए पनि पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशतमा कायम भएको छ।

२०८१ असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ७.५० प्रतिशतभन्दा कम हो। तरकारी र दलहनको उच्च मूल्यवृद्धिका कारण खाद्यान्न समूहको मुद्रास्फीति ७.१८ प्रतिशतमा पुगेको छ भने गैर-खाद्य समूहको मुद्रास्फीति ३.५० प्रतिशतमा झरेको छ।

थोक मुद्रास्फीति पनि अघिल्लो वर्षको २.७८ प्रतिशतबाट बढेर ५.५१ प्रतिशत पुगेको छ। तलब तथा ज्याला सूचकाङ्क भने ३.३६ प्रतिशतले मात्र बढेको छ।

विदेशी मुद्रा सञ्चिति र कर्जा प्रवाह स्थिति

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति १४.६ महिनाको आयात धान्न सक्ने गरी राखेको जनाएको छ, जुन लक्ष्यको दोब्बर हो। बैंकले ७ महिनाको आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिति राख्ने लक्ष्य लिएको थियो। वैदेशिक रोजगारीमा बढोत्तरीले विप्रेषण आप्रवाहमा वृद्धि हुने अनुमान गरिएको छ, जसले विदेशी मुद्रा सञ्चिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

तर, निजी क्षेत्रतर्फ कर्जा प्रवाहको गति भने लक्ष्यअनुसार रहेन। वार्षिक रूपमा १२.५ प्रतिशत कर्जा प्रवाह हुने लक्ष्य लिइएको भए पनि यो दर ६.२ प्रतिशतमा सीमित रह्यो। बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा भने गत वर्षको तुलनामा सुधार देखिएको छ।

संभावित जोखिम र आर्थिक परिदृश्य

राष्ट्र बैंकले विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिएको अवरोध तथा रुस-युक्रेन युद्धका कारण मुद्रास्फीतिमा चाप बढ्ने जोखिम रहेको जनाएको छ। भारतमा खाद्य वस्तुको उच्च मुद्रास्फीति तथा अन्य भू-राजनीतिक तनावले नेपालको अर्थतन्त्रमा असर पर्ने सम्भावना छ।

प्रतिक्रिया