बैंकिङ क्षेत्रमा अधिक तरलता, राष्ट्र बैंकबाट ८३ अर्ब निक्षेप संकलन

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा रहेको अत्यधिक तरलता प्रशोचन गर्न आज पुस ३ गते १०० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको थियो। तर बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ८३ अर्ब ३० करोड रुपैयाँको लागि मात्र प्रस्ताव गरेका छन्।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिन अवधिको लागि बोलकबोल विधिबाट निक्षेप संकलन गर्न प्रस्ताव आह्वान गरेको थियो। १४ वटा बैंक तथा वित्तीय संस्थाले २० प्रस्ताव पेश गरेका थिए। यसअनुसार राष्ट्र बैंकले ८३ अर्ब ३० करोड रुपैयाँ २.९९६५ प्रतिशत भारित औसत ब्याजदरमा संकलन गरेको छ।

बैंकहरुले निक्षेप संकलनका लागि न्यूनतम २.९६ प्रतिशतदेखि अधिकतम ३ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए।

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले प्रयोग गर्ने उपकरणमध्ये निक्षेप संकलन पनि एक प्रभावकारी विधि हो। यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुबाट निश्चित अवधिको लागि निक्षेप संकलन गरिन्छ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त "क", "ख", र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाउन पाउँछन्। निक्षेप संकलनका लागि प्रस्ताव गरिएको ब्याजदर र जम्मा गर्न चाहिएको रकमको आधारमा प्राथमिकता निर्धारण गरी रकम बाँडफाँड गरिन्छ।

तर, यो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन। यद्यपि, यो रकम राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने तरलता अनुपात (SLR) र तरलता अनुपात (Liquidity Ratio) मा गणना गर्न सकिन्छ।

तरलता व्यवस्थापनका लागि यो विधिले बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने विश्वास राष्ट्र बैंकले लिएको छ।

प्रतिक्रिया