काठमाडाैं - नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले आइतबार सार्वजनिक गरेको स्ट्राटेजिक एनालसिस रिपोर्ट २०२४ अनुसार १९–२४ वर्ष उमेर समूहका व्यक्तिहरू शंकास्पद वित्तीय कारोबारमा उच्च संलग्न देखिएका छन्। यी व्यक्तिहरूले प्रायः आफ्नो पेसा 'विद्यार्थी' उल्लेख गरेका पाइएको छ।
प्रतिवेदनले अधिकांश शंकास्पद खाता सञ्चालन भएको तीन महिनाभित्र नै संलग्नता देखिएको बताएको छ। साइबर प्रविधि मार्फत ठगीका घटनाहरू मुख्यतः गिफ्ट/पार्सल, सामाजिक सञ्जालको दुरुपयोग, नक्कली अनलाइन प्लेटफर्म, ओटीपी, र चिट्ठालगायत माध्यमबाट हुने गरेको पाइएको छ।
सन् २०२४ को मेसम्म ५०१ वटा शंकास्पद कारोबार दर्ता भएका थिए, जसमध्ये ३१९ वटा साइबर ठगीसँग सम्बन्धित थिए। ठगीमा संलग्न व्यक्तिमध्ये ४९% १९–२० वर्ष उमेर समूहका थिए भने २५–३० वर्ष उमेर समूहका २१% थिए।
बैंक खाता दुरुपयोगमा वृद्धि
अध्ययनले अपराध गर्ने उद्देश्यले नयाँ बैंक खाता खोल्ने प्रवृत्ति पुष्टि गरेको छ। २०२३–२०२४ को बीचमा खुलेका ७८% खातामध्ये करिब ४९% मा तीन महिनाभित्रै शंकास्पद कारोबार भएको पाइएको छ।
साइबर ठगीका घटनामा वाग्मती प्रदेश सबैभन्दा अगाडि रहेको देखिएको छ। वाग्मतीमा ५५, मधेशमा ४१, कोशीमा २७, लुम्बिनीमा १०, गण्डकीमा ६, सुदूरपश्चिममा २, र कर्णालीमा १ घटना दर्ता भएका छन्।
प्रतिवेदनले साइबर ठगी रोक्न र नियमन कडा बनाउन नयाँ रणनीति आवश्यक रहेको औंल्याएको छ। आजको कान्तिपुर दैनिकबाट