उत्कृष्ट करदाताको सूचीमा अर्बपति विनोद चौधरी किन परेनन् ?


काठमाडौं–सरकारले हरेक वर्ष मुलुकमा सबैभन्दा कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने गरेको छ । यो वर्ष पनि गत आर्थिक वर्ष २०७७÷०७८ मा सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताको रुपमा विभिन्न कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक कार्यक्रमकाबीच व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिर्ने सिप्रदीका अध्यक्ष सिद्धार्थ राणा, संस्थागतर्फ नेपाल टेलिकम, बैंकतर्फ नेविल बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ ।


नेपालका अर्वपति भनेर चिनितएका विनोद चौधरी नत व्यक्तिगत कर धेरै तिर्नेमा छन् नत उनले नेतृत्व गरेको चौधरी ग्रुप उत्कृष्ट करदाताको सूचीमा छ । सरकारले कति कर तिरेको कारण सम्मान ग¥यो भनेर खुलाउँदैन । करको विवरण गोप्य राख्नुपर्ने भएकाले सार्वजनिक नगरिएको हो ।


तर, चौधरी र उनको व्यापारिक घराना चौधरी ग्रुप किन उत्कृष्ट करदातामा परेनन् भनेर आम चासो छ । चौधरी ग्रुप अन्तर्गत धेरै कम्पनी रहेको र ती कम्पनीहरुले फरक–फरक भ्याट नम्बरबाट कर तिर्ने भएकाले उत्कृष्ट करदातामा नपरेको चौधरी ग्रुपको दाबी छ ।


तर, चौधरी ग्रुपले आर्थिक बर्ष २०७७÷०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको जनाएको छ । यो मूल्यअभिवृद्धि करसहितको राजस्व हो । मूल्यअभिवृद्धि कर जनतासँग उठाएर राज्यको ढुकुटीमा पठाएको रकम हो । व्यक्तिगत र कम्पनीले नाफा कमाएर त्यसबाट तिरेको आयकरका आधारमा उत्कृष्ट करदाता छनोट गरिन्छ ।


पछिल्लो बर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको छ ।  कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओह्रालो लागेर व्यापारिक कारोबारमा गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो । कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे आँफूलाई उत्साहित बनाएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताए । विगत चार आर्थिक बर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड  रूपैयाँ योगदान गरेको छ । चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन् । चौधरी ग्रुप खाद्य पदार्थदेखि जलविद्युत् र वित्तिय क्षेत्रसम्म लगानी गरेको छ । 


चौधरी विश्वकै अर्वपतिको सूचीमा छन् । नेपालको कारोबारको कारणले मात्र नभएर उनले विदेशमा गरेको कारोबारका आधारमा अर्बपतिको सूचीमा रहेका हुन् । अघिल्ला वर्ष भन्दा गत वर्ष अरबपति विनोद चौधरी फोब्र्सको अर्बपति सूचीबाट तल झरेका छन् ।   फोब्र्सले सार्वजनिक गरेको धनाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा छन् । उनी अघिल्लो वर्ष १५१३ स्थानमा रहेका थिए । विश्वव्यापी महामारी कोरोना भाइरसका उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान खस्किएको हो ।


दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ । सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो । तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ ।

प्रतिक्रिया