काठमाडौं - पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बिहीबार धरौटीमा रिहा भएका छन्। उनलाई अदालतको आदेशअनुसार रु ६५ लाख धरौटी बुझाएर कास्की प्रहरीले रिहा गरेको हो। लामिछानेलाई पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ।
काठमाडौँमा पनि लामिछानेविरुद्ध सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जानकारी रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले दिएका छन्।
कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, आरती गुरूङ र मीना गुरूङले पनि धरौटी रकम बुझाएर रिहा भएका छन्। अदालतले लामिछानेलाई रु ६५ लाख, छविलाल जोशीलाई रु ८८ लाख, रामबहादुर खनाललाई रु १५ लाख, आरती गुरूङ र मीना गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटी बुझाउन आदेश दिएको थियो। तर प्रतिवादी लीला पछाईँले तोकिएको रु ३७ लाख धरौटी रकम बुझाउन नसकेकाले उनी हिरासतमै रहेको अदालतले जनाएको छ।
यही पुस ७ गते कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अदालतमा दश दिनसम्म चलेको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ। धरौटीमा रिहा भएका प्रतिवादीहरूमाथि थप अनुसन्धान जारी रहने श्रेस्तेदार खनालले जानकारी दिएका छन्।