निजी बैंकमा धितो दुरुपयोग भए कडा कारबाही - राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याट्रल बेचेर फाइदा लिन खोज्ने कामलाई प्रत्यक्ष रूपमा ‘पार्ट अफ करप्सन’ भन्दै यस्तो गतिविधि राष्ट्र बैंकले कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले सरकारी बैंकमा यस्तो चलखेल भएमा सरकार नै जोखिममा पर्न सक्ने भन्दै निजी बैंकमा भने यसलाई कडाइका साथ कारवाही गरिने स्पष्ट पारे। गभर्नरका अनुसार जबरजस्ती धितो बेचेर फाइदा लिन खोज्ने व्यक्ति वा समूहलाई अब राष्ट्र बैंकले क्षम्य व्यवहार गर्ने छैन।

उनले आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीतिमा आवश्यक संशोधन गरिएको बताउँदै, वित्तीय संस्थाहरूको नाफा बढाउन सहज वातावरण तयार गरिएको उल्लेख गरे। महानगरका धेरै बैंक शाखा बन्द गर्ने मार्ग खोलिदिएको र डिजिटल कारोबारलाई प्रोत्साहन दिने दिशामा राष्ट्र बैंक काम गरिरहेको उनले बताए। बैंक तथा वित्तीय संस्थाहरूको नाफा, लगानी र नियमनको सन्तुलन कायम गर्न नीति बनाइने उल्लेख गर्दै उनले सबै धारणा र गुनासो आधार मानेर राष्ट्र बैंक अघि बढ्ने बताए।

अर्थतन्त्रको गति मनोबलसँग जोडिएको उल्लेख गर्दै उनले पछिल्ला १० वर्षमा हिमालयन जाभादेखि आईटी क्षेत्रसम्म उल्लेख्य प्रगति भएको र विभिन्न क्षेत्रमा पूर्वाधार विकास तीव्र भएको तथ्य औंल्याए। श्रीलंकाले अप्ठ्यारो अवस्थाबाट पुनरुत्थानको गति समातेझैँ नेपालले पनि सुधारको मार्ग लिन सक्ने उनको विश्वास छ। कमजोर मनोबललाई उठाउन सकारात्मक क्षेत्र—जस्तै निर्यातमा राम्रो प्रदर्शन गरिरहेको अलैंची—जस्ता उत्पादनलाई बढावा दिनुपर्ने उनले सुझाव दिए।

देशमा निराशाको भाव बढ्दै गएका कारण धेरैले छोराछोरी विदेश पठाएको उल्लेख गर्दै गभर्नरले उनीहरूलाई फर्काउने वातावरण बनाउनुपर्ने बताए। तर फर्केपछि उनीहरूलाई मन्त्री बनाउँदै राजनीतिक प्रतिस्पर्धामा लैजानु उचित नहुने उनको भनाइ थियो। कुनै पनि काम रातारात सकिने ‘फर्मुला’ नहुने भन्दै उनले सफलताका कथाहरूलाई प्राथमिकतामा राख्दै बिस्तारै परिणाम देखाउनुपर्ने धारणा राखे। कालोसूची व्यवस्थाबारे राष्ट्र बैंक अध्ययनमा रहेको बताउँदै उनले निर्माण उद्योगमा माइक्रोफाइनान्सजस्तो प्रभाव देखिन थालेको र एउटाको कमजोरीले सबैलाई दोषारोपण गर्ने प्रवृत्तिको सुधार आवश्यक रहेको बताए।

प्रतिक्रिया