काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन उच्च अंकले बढेको बजार आज भने स्थिर हुन नसकी झिनो रूपमा घटेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा झरेको छ। सोमबार ८३ अंकभन्दा बढीले बढेको बजारमा आएको यो गिरावटलाई लगानीकर्ताको सावधानीपूर्ण व्यवहारको रूपमा हेरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा होटल तथा पर्यटन, हाइड्रोपावर र वाणिज्य बैंक समूहमा सामान्य सुधार देखिए पनि अन्य अधिकांश उपसूचकहरू घटेका छन्। सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आज ३४५ कम्पनीका १ करोड ७४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन भने १२ अर्बभन्दा बढीको कारोबार भएको थियो।
यस दिन ८२ कम्पनीको सेयर मूल्य बढेको छ। भुजुङ, सुपर खुदी र स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। त्यस्तै, केही अन्य जलविद्युत कम्पनी र होटल समूहका सेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ।