५४ अंकले बढ्यो नेप्से,कारोबार रकम २३ अर्ब ५९ करोड

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन पनि उत्साहजनक वृद्धि देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको छ, जुन १.८९ प्रतिशतको वृद्धि हो। यसअघि बिहीबार पनि बजार उल्लेख्य रूपमा बढेको थियो।

आज कारोबारमा सूचीकृत सबै उपसमूह हरियालीमा देखिएका छन्। तीमध्ये माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी होटल तथा पर्यटन, निर्जीवन बीमा, बैंकिङ, विकास बैंक, फाइनान्स र जीवन बीमा समूहमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आइतबार ३६४ कम्पनीका ६ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २३ अर्ब ५९ करोड रुपैयाँ नाघेको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम र सेयर संख्या दुवै बढेका छन्।

यस दिन १८३ कम्पनीका सेयर मूल्य बढेका छन् भने ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले उच्च लाभ पाएका छन्। त्यस्तै होटल फरेस्ट इन, विजय लघुवित्त र एनआइसी एसिया लघुवित्तको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

प्रतिक्रिया