मंसिरमा कर्जा विस्तारको संकेत, निजी क्षेत्रतर्फ लगानी बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनामा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जामा सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले मंसिर महिनामा मात्र ३७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी बढाएका छन् ।

चालु आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना कात्तिकमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो ।

गत मंसिर महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १ खर्ब २ अर्ब २४ करोड रुपैयाँले बढ्दै कुल कर्जा ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा १ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ अर्थात् ३.५ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८२ मंसिरमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

मंसिर मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा २ प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.२ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा आधारित कर्जाको अंश १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा आधारित कर्जाको अंश ६४.४ प्रतिशत पुगेको छ । २०८१ मंसिरमा यस्तो कर्जाको अनुपात क्रमशः १३.५ प्रतिशत र ६६.१ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये निर्माण क्षेत्रमा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रमा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रमा ०.४ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा कृषि क्षेत्र तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा भने २.२ प्रतिशतले घटेको छ ।

कर्जा प्रकृतिका आधारमा हेर्दा हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिका कर्जा ५.७ प्रतिशत, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशत, क्यास क्रेडिट २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पूँजी कर्जा १ प्रतिशत र ट्रस्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा भने ५.४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया