काठमाडाैं - फागुन ४ गतेदेखि निरन्तर बढिरहेको शेयर बजारमा हाल ब्रेक लागेको छ। लगातार तेस्रो दिन बजार घट्दा लगानीकर्तामा चिन्ता देखिएको छ। सुरुमा यो गिरावटलाई करेक्सन मानिए पनि अब भने लगानीकर्ताले यसलाई सामान्य समायोजनको रूपमा लिन सकेका छैनन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा झरेको छ। कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार करिब १३ अर्बको कारोबार भएकोमा आज ११ अर्बभन्दा कममा सीमित भएको छ। आज कुल २ करोड ३३ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभर ३०८ कम्पनीको कारोबार भएको थियो भने १ लाखभन्दा बढी पटक शेयर किनबेच भएको छ।