काठमाडाैं - संघीय सरकारले सार्वजनिक यातायात व्यवसायीसँगको सहमतिअनुसार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगन गर्न पत्र पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यवसायीहरूसँगको वार्ताबाट बनेको सहमति कार्यान्वयन गर्दै गण्डकी प्रदेशलाई औपचारिक पत्र पठाएको हो।
काठमाडौँबाट पठाइएको पत्र मंगलबार साँझ सवा ५ बजे गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेको जानकारी त्यहाँका एक अधिकारीले दिएका छन्। उनका अनुसार, पत्र प्राप्त भइसकेपछि त्यसको जवाफबारे छलफल भइरहेको छ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली लागू गर्ने तयारी गरेपछि सार्वजनिक यातायात व्यवसायीहरू आक्रोशित बनेका थिए। त्यसको प्रतिकारस्वरूप उनीहरूले देशभर सार्वजनिक सवारी सञ्चालन ठप्प पारेका छन्। काठमाडौं उपत्यकामा समेत दुई दिनदेखि सार्वजनिक सवारी चलनचल्तीमा नरहेको अवस्था देखिएको छ।
राइड सेयरिङसम्बन्धी नियमावलीविरुद्ध चर्किएको असन्तुष्टिपछि संघीय सरकारले व्यवसायीलाई वार्ताका लागि बोलाएको थियो। सोमबार गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि नियमावली स्थगन गर्न प्रदेश सरकारलाई पत्र पठाउने सहमति बनेको थियो।