काठमाडौँ । बडादशैँको नवरात्र अन्तर्गत पाँचौँ दिन आज देशभर स्कन्दमाताको पूजाआराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको पूजा गर्ने परम्परा रहँदै आएको छ । दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा गर्ने गरिन्छ । यी नै देवीका नौ रूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।
धार्मिक ग्रन्थअनुसार स्कन्द भन्नाले सनतकुमारलाई जनाउने भएकाले देवीलाई स्कन्दमाता भनिन्छ । चित्रणमा देवी सिंहासनमा आसिन भई दुवै हातमा कमलपुष्प समाएको र स्कन्द कुमारलाई अंकमा लिएको स्वरूपमा देखाइने विवरण पाइन्छ ।