काठमाडौं । मुस्ताङ नाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधन नियमअनुसार जाँचपास गरिएको पुष्टि भएको छ भने रसुवा भन्सार कार्यालयबाट जाँचपास गरिएका केही सवारीसाधनको प्रक्रियामा अनियमितता भेटिएको छ।
भन्सार विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन कानुनबमोजिम नेपाल भित्रिएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको छ। ती सवारीसाधन गत जेठ १४ गते नेपाल प्रवेश गरेका थिए।
विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार आधिकारिक अभिलेख तथा सिसीटीभी फुटेजको विस्तृत अध्ययन र विश्लेषणपछि ती सवारीसाधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्म नियमानुसार भन्सार जाँचपास सम्पन्न भएको पुष्टि भएको हो।
यता, रसुवा भन्सार कार्यालयको अनुगमनका क्रममा विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा कर्मचारीबाट आवश्यक सावधानी र पदीय जिम्मेवारी पूरा नभएको देखिएको छ। स्थलगत अध्ययन तथा अभिलेख परीक्षणका क्रममा केही सवारीसाधन भौतिक रूपमा भन्सार क्षेत्रमा नआइपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको पाइएको विभागले जनाएको छ।
यस प्रकरणमा अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाइसकेको छ।
त्यस्तै, लक्ष्मी इमोविलिटी प्रालि, साइमेक्स इन्क लिमिटेड, सिजी मोटर्स प्रालि, पूजा इन्टरनेसनल प्रालि तथा एजेन्ट नम्बर ८३३ र एजेन्ट नम्बर ४७८ सहितका भन्सार जाँचपास प्रतिनिधिमाथि प्रचलित भन्सार कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको भन्सार विभागले जनाएको छ।