काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावले गर्दा केही स्थानहरूमा भारी वर्षा हुन सक्नेछ।
महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास रहेको बताउँदै देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रहने जानकारी दिएको छ।
आज दिउँसोको समयमा कोशी, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने अन्य केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। राति देशको पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ।
महाशाखाले आगामी दुई दिनका लागि पनि यस्तै मौसम रहने जानकारी दिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।