फागुनमा घरजग्गा कारोबार २८ प्रतिशतले घट्यो, बजारमा मन्दी

काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले सार्वजनिक गरेको २०८२ साल फागुन महिनाको तथ्याङ्कले नेपाली घरजग्गा बजारमा उल्लेख्य मन्दी देखिएको छ। पछिल्लो समय बजारमा उत्साहजनक व्यावसायिक वातावरण देखिन नसकेको स्पष्ट संकेत देखिएको हो।

विभागका अनुसार माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबारको ग्राफ तीव्र रूपमा घटेको छ। फागुनमा देशभर कुल ३६ हजार ४ सय ७१ वटा मात्रै लिखत पारित भएका छन्, जुन माघ महिनाको ५० हजार ८ सय ३७ को तुलनामा २८.२५ प्रतिशतले कम हो। यसले बजारमा लगानीकर्ता र उपभोक्ताको आकर्षण घट्दै गएको देखाउँछ।

घरजग्गा खरिद–बिक्री मात्र नभई अन्य प्रशासनिक कार्यहरूमा पनि सुस्तता देखिएको छ। फागुन महिनाभर देशभरका मालपोत कार्यालयबाट जम्मा ३ हजार ४ सय ६ वटा मात्रै नामसारी भएको छ। यस्तै, कुल १ लाख ११ हजार ४ सय ९४ वटा विभिन्न प्रशासनिक काम सम्पन्न भएका छन्, जसमा लिखत पारित, नामसारी, रोक्का, फुकुवा र श्रेस्ता एकीकरणजस्ता कार्य समावेश छन्। यस अवधिमा १२ हजार ७ सय ४९ वटा संशोधन तथा २ हजार ८ सय १७ वटा ‘हाल साविक’ सम्बन्धी प्रक्रिया सम्पन्न भएका छन्।

बैंकिङ कर्जा र तरलताको अवस्थासँग सम्बन्धित ‘रोक्का’ र ‘फुकुवा’ को तथ्याङ्कले पनि बजारको अवस्थालाई संकेत गर्छ। फागुनमा २८ हजार ६ सय २ वटा घरजग्गा रोक्का राखिएको छ भने २३ हजार ९ वटा फुकुवा गरिएको छ। यसले नयाँ लगानीभन्दा पुराना दायित्व व्यवस्थापनतर्फ झुकाव बढेको देखाउँछ।

सहरी जीवनशैलीसँग जोडिएको अपार्टमेन्ट बजार पनि सुस्त देखिएको छ। फागुनमा देशभर जम्मा २० वटा मात्र अपार्टमेन्टको लिखत पारित भएको छ। यसैगरी २ सय ५४ वटा नयाँ जग्गा दर्ता, १ हजार ३ सय ४९ वटा दाखिल खारेज सम्पन्न भएका छन्।

अन्य विवरणअनुसार मोहीयानी हकका ७०, मोही लगत कट्टा ३४०, जग्गा बाँडफाँड ९६, प्रतिलिपि जारी १ हजार ८ सय ४६, गुठीसम्बन्धी विभिन्न १६२ तथा गैर घरजग्गा सम्बन्धी २८५ वटा काम सम्पन्न भएका छन्। श्रेस्ता एकीकरण र विभिन्न आयोजनासम्बन्धी केही सीमित कार्यहरू पनि सम्पन्न भएको उल्लेख छ।

विगतमा फागुन महिना घरजग्गा कारोबारका लागि सक्रिय मानिने भए पनि यस वर्षको तथ्याङ्कले फरक अवस्था देखाएको छ। बजार सुस्त हुनुमा आर्थिक शिथिलतासँगै सामाजिक तथा राजनीतिक अनिश्चितता पनि प्रमुख कारण मानिएको छ।

विशेषगरी भदौ महिनामा भएको ‘जेन जी’ आन्दोलनपछि युवा तथा लगानीकर्तामा देखिएको अनिश्चितताले दीर्घकालीन लगानीप्रति आत्मविश्वास घटाएको विश्लेषण गरिएको छ। आर्थिक नीतिको कडाइ र सामाजिक परिवेशको प्रभावले घरजग्गा बजारमा प्रत्यक्ष असर परेको देखिन्छ।

आगामी महिनामा सरकारको नीति, बैंकिङ तरलता र कर्जा प्रवाहको अवस्थाले नै घरजग्गा बजारको दिशा तय गर्ने देखिन्छ।

प्रतिक्रिया