काठमाण्डौ - विद्युत नियमन आयोगले खानीखोला जलविद्युत कम्पनीलाई पत्र काट्ने भएको छ । पछिल्लो समय यो कम्पनी शेयर बजारमा उसको आम्दानीलाई लिएर चर्चामा छ ।
कम्पनीले गत शनिबार अस्वभाविक रुपमा नाफा वृद्धि भएको वित्तीय विवरण प्रकाशित गरेपछि शेयर बजारमा कम्पनीको शेयर अस्वभाविक रुपमा वृद्धि भएको हो ।
नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइन नबनाइ दिएको कारण बिजुली खेर गएर कम्पनीलाई घाटा भएकाले क्षतिपूर्ति पाउनुपर्ने दाबी रकम समेत कम्पनीले नाफामा देखाएकाे थियाे । फलस्वरुप कम्पनीको प्रति शेयर आम्दानी ७१.२१ रुपियाँ देखिएको थियो ।
विद्युत नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जलविद्युत कम्पनीको निश्चित वित्तीय विवरण प्रकाशित गर्ने निश्चित फम्र्याट रहेको र सोही फम्र्याट अनुसार वित्तीय विवरण प्रकाशित गर्नुपर्ने उनले बताए । खानीखोला जलविद्युत कम्पनीले ४१ करोड ३ लाख रुपैया क्षतिपूर्ति दाबीसहितको रकमलाई नाफामा देखाएर वित्तीय विवरण प्रकाशित गरेकोमा आयोगको ध्यानकर्षण भएको जानकारी दिए । आयोगले स्पष्टिकरणको लागि आजै कम्पनीलाई पत्र काट्ने र यसको बोधार्थ धितोपत्र बोर्डलाई समेत दिइने बताए ।
गत साता कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ३३ करोड १६ लाख रुपैयाँ नाफा भएको वित्तीय विवरण सार्वजनिक गरेको थियो । यद्यपि अघिल्लो वर्षको यसै त्रैमासमा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीले नेप्सेमा सुचीकृत भए यता कहिले पनि नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थिएन ।
अघिल्लो आवको चौथो त्रैमासिकसम्म ५ करोड १० लाखको विद्युत विक्री गरेको कम्पनीले गत आवको चौथो त्रैमासिकसम्म भने ५१ करोड २ लाख रुपियाँको विद्युत विक्री गरेको देखाएको छ ।
गत असार मसान्तसम्म पनि नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसन लाइन नबनाएका कारणले गर्दा खेर गएको बिजुली बिक्री गरेबापत पाउनुपर्ने ४१ करोड ३ लाख रुपैयाँ बढी विद्युत प्राधिकरणसँग दाबी गरी पत्राचार समेत गरेको रिपोर्टमा उल्लेख छ । सोही दाबी बापतको रकम नाफामा देखाएको कारण कम्पनीको नाफामा उल्लेख्य वृद्धि देखिएको छ ।