काठमाडौं – जापान लगायत विदेशमा रहेका नेपालीहरूले धेरै दुःख र संघर्ष गर्नुपर्छ। त्यहाँ उनीहरूको लागि काम नै सबैथोक हुन्छ। कामको चापले समयमा खाना खान पनि नपाउने स्थिति सिर्जना हुन्छ। विशेषगरी जापानमा समयको अत्यन्त महत्व छ, जहाँ काम गर्ने ठाउँमा निर्धारित समयभन्दा अगाडि नै पुग्नुपर्ने कडा नियम छ।
पछिल्लो समय जापानमा नेपाली चेलीहरूको संख्या बढ्दै गएको छ। त्यहाँको जनसङ्ख्या वृद्धि सँगसँगै उनीहरूको भोगाइलाई विभिन्न माध्यमबाट सार्वजनिक गरिँदैछ। यसै सन्दर्भमा, जापानमा रहेका नेपालीहरूको संघर्ष र भोगाइलाई गहिराईमा गएर गीतमार्फत प्रस्तुत गरेका छन् सर्जक तथा गायक प्रेम सापकोटा ‘सोनु’ ले। उनी आफैँ पनि जापानमा बसोबास गर्दै आएका छन्, जसकारण उनले त्यहाँ रहेका नेपालीहरूको पीडा नजिकबाट अनुभव गरेका छन्।
यिनै अनुभवहरूलाई भावनात्मक रूपमा सगाल्दै उनले ‘आलाराम’ शीर्षकको गीत सार्वजनिक गरेका छन्। जापानको परिवेशमा आधारित नेपालीहरूका भोगाइलाई चित्रण गर्ने धेरै गीतहरू बनेका छन्, तर सापकोटाको यो गीत शब्द र संगीतको गहिराईका कारण विशिष्ट छ। यसले छोटो समयमै धेरै दर्शक–श्रोताको मन जितिरहेको छ।
गीतमा सीमा नेपालीको सुमधुर स्वर रहेको छ भने लय र शब्द सिर्जना सापकोटाले गरेका छन्। गीतको सबैभन्दा बलियो पक्ष यसका शब्दहरू हुन्, जसमा विदेशमा रहेकी एक चेलीले भोग्नुपरेका पीडाहरूलाई मार्मिक रूपमा चित्रण गरिएको छ।
तेजेन्द्र भण्डारीको निर्देशनमा बनेको यस गीतको भिडियो सामान्य भए पनि कथावस्तु र प्रस्तुतिले दर्शकको मन छोएको छ। भिडियोमा कविता क्षेत्री, कल्पना क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ, जसले गीतको भावनालाई जीवन्त बनाएका छन्।