इलाममा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ। इलामका विभिन्न स्थानमा गएराति गएको पहिरोमा परेर २१ जनाको ज्यान गएको इलाम प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अझै केही व्यक्ति हराइरहेका छन्, जसका कारण मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर इलाम पुगेको छ। माङ्सेबुङ गाउँपालिकामा पहिरोमा फसेकी एक गर्भवती महिलालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।
पहिरोका कारण मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध हुँदा घाइतेहरूको उपचारमा कठिनाइ भएको छ। यही कारण सेनाको हेलिकप्टरलाई उद्धारका लागि परिचालन गरिएको हो।
इलामको सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुङ लगायतका पालिकामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरोमा परेर दर्जनौँ घर पुरिएका छन्।