काठमाण्डौं–सेयर धितो कर्जाको सीमाको विषयलार्य लिएर सेयर लगानीकर्ता आन्तोलित भएका छन् । लगानीकर्ताले गत बुधबारबाट माइतीघर मण्डलामा रिले अनसन जारी राखेका छन् । रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले रिले अनसन सुरु गरेका थिए । रिले अनसन भदौ २९ गतेसम्म जारी राख्ने लगानीकर्ताहरुको भनाइ छ ।
आफूहरुले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएपछि पनि माग सम्बोधन नभएको रिले अनसन जारी राख्न बाध्य भएको संयोजक ढकालले बताए । ‘हाम्रा माग पूरा नभए भदौ ३० गतेबाट आमरण अनसनसहित कडा आन्दोलन सुरु गर्न बाध्य हुने छौँ’, उनले भने । गत सोमबार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्दै प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले गभर्नर बजारप्रति सकारात्मक भएकाले बजार सुधारका लागि उचित कदम चलाइने आश्वासनसमेत दिएका थिए ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएको व्यवस्था तुरुन्त खारेज गर्न माग गर्दै १८ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।
उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजिनामा समेत माग गरेका छन् । राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। मौद्रिक नीतिमा यो व्यवस्था गरेसँगै सेयर बजार लगातार ओरालो यात्रा तय गरिरहेको हो ।
राष्ट्र बैंक घेराउपछि संघर्ष समितिका संयोजक ढकालले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले सेयर धितो कर्जा सीमा केहि परिमार्जन गरिने बताएका छन्।