काठमान्डौ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ७५.२४ अंकले उकालो लाग्दै २८९०.२८ बिन्दुमा पुगेको छ।
कारोबारको पहिलो दिन ३०२ कम्पनीका १४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको दुई करोड ९१ लाख कित्ता शेयर किनबेच भएका छन्।
आज कुल १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक मात्र घटेको छ। १९६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४४ कम्पनीको सेयर घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ। हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले उकालो लागेको छ।
यसैगरी, फाइनान्स, माइक्रोफाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जसले बजारलाई थप उकास्ने संकेत गरेको छ।
गवर्नर महाप्रसाद अधिकारीको विदाईको दिन नजिकिँदै गर्दा सेयर बजारमा उत्साह छाएको छ। उनी सेयर बजारको लागि त्यति मैत्रीपूर्ण मानिँदैनन्।