बजेट समिति बैठक बोलाउने तयारी, प्रमुख प्रशासकलाई बाइपास

काठमाडौं । काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अन्ततः बस्ने तयारी भएको छ । कार्यपालिका र नगरसभा सदस्यहरूको निरन्तर दबाबपछि मेयर बालेन शाहले असार ४ गते बिहान ११ बजे बैठक बोलाएका हुन् ।

बैठक समितिका संयोजक मेयर शाह आफैं हुन् भने उपप्रमुख सुनिता डंगोल, कार्यपालिका सदस्यहरू नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली पनि सदस्यका रूपमा रहेका छन् । यद्यपि, समितिका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बैठकबाट बाइपास गरिएको स्रोतले जानकारी दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार समितिको बैठकमा सचिवको उपस्थिति अनिवार्य हुने व्यवस्था रहेकाले सचिवविना बैठक अन्योलमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नैपर्ने कानुनी प्रावधान छ भने असार मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यता पनि छ । तर, मेयर शाहको संयोजनमा रहने बजेट समिति बैठक अहिलेसम्म नबसेकाले बजेटसम्बन्धी कार्यतालिका अन्योलमा परेको हो ।

महानगरपालिकाको कार्यपालिका बैठक झण्डै ७ महिनादेखि बसेको छैन भने नगरसभाको बैठक पनि निर्धारित ६ महिनामा एकपटक बस्नुपर्ने कानुनी प्रावधानको पालना भएको छैन । बजेट पेस गर्नुअघि नगरसभाको बैठक बस्नुपर्ने कानुनी आवश्यकता रहेकोले पनि अबको कार्यसूची थप जटिल बन्ने संकेत देखिएको छ ।

प्रतिक्रिया